
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएकचा छन् ।
अन्तरराष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बनाउने युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका भन्ने आफूलाई विश्वास लागेको बताए ।
राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताको युवावय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याउनमा समर्पित रहेको उल्लेख गर्दै आफूहरू क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताए । एक अर्को फरक कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताएका छन् ।
नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को का अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरूपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताउ ।
राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भए पनि कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानुन व्यवसायीले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उनले विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आवश्यक पर्ने बताए ।
उनले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरूप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवं यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता बहन गर्ने कानुन व्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया