गरिबीले विदेश पठाउँदै, चाडपर्वले गाउँ फर्काउँदै

बाजुरा,  २५  चैत २०८०।

गरिबीका कारण रोजगारीको खोजीमा भारतलगायत विभिन्न मुलुक गएकाहरू चाडपर्व मनाउन धमाधम गाउँ फर्किन थालेका छन् । यस जिल्लाको हिमाली, जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदहलगायत विभिन्न पालिकाका लोग्ने मान्छे (पुरुष) नयाँ वर्ष सुरु नहुँदै घर फर्किन थालेका छन् ।

हिउँदे खेती लगाएर कामको खोजी विदेश पसेकाहरू धमाधम घर फर्किन थालेका हुन । हिउँदे खेती गहुँ छरेर कात्तिकमा भारत गएका स्थानीय युवा नयाँ वर्ष तथा बिसु पर्व र चैते दसैँ मनाउन गाउँ फर्किएका हुन् ।

हिउँदे खेती लगाएर रोजगारीका लागि भारत गएकाहरू आफ्नो गाउँ फर्किन थालेको बुढीगङ्गा नगरपालिका बहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला मेरो बुवाले पनि भारतमै नोकरी गरेर घरपरिवार पाल्नुभयो । गाउँमा गरेर खाने केही उपाय नभएकै कारण म पनि छोराछोरी पाल्नकै लागि अहिले भारतमै गएर नोकरी गरी फर्किएको हुँ । ”

घरको आर्थिक अवस्था कमजोर हुँदा नोकरी गर्न भारतमा गए पनि यहाँका युवा दसैँतिहार, माघी र बिसु पर्वलगायत चाडपर्वमा भने प्रत्येक वर्ष यसरी नै गाउँ फर्किने गरेको नेपालीले बताउनुभयो ।

यस जिल्लाका अधिकांश कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने प्रचलन रहेको छ । कृषि उत्पादनले स्थानीयलाई तीन महिनासम्म पनि खान पुग्दैन । बाढीपहिरो र कहिले असिनापानीका कारण लगाएको खेतीमा क्षति हुने गरेको छ ।

बर्खा, बाढीपहिरो र हिउँदे असिनापानीले लगाएको खेती नष्ट हुने गरेकाले पछिल्लो समय कतिपयले खेती गर्न छोड्दै गएका छन् । किसानले यसरी खेती लगाउन छोड्दै गएकाले जमिन बाँझो हुँदै गएको छ ।

गाउँबस्तीसम्म सडक सञ्जालको पहुँच पुगे पनि सिँचाइ सुविधा तथा उत्पादन गरिएको सामानले उचित मूल्य नपाउँदा किसान समस्यामा छन् । सोही कारण कामको खोजीमा भारत जानैपर्ने बाध्यता रहेको छ । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायतका भौतिक पूर्वाधार विकासको क्षेत्रमा परिवर्तन भए पनि युवा पुस्तालाई गाउँमै गरेर खाने केही व्यवस्था नहुँदा भारतमा जानु परेको स्थानीय अगुवा बताउँछन् ।

२०७८ सालको जनगणना अनुसार बाजुरामा २४ हजार ९७८ घरधुरी रहेका छन् । गत वर्षको बाढीपहिरोका कारण यहाँका नौ वटै स्थानीय तहका दुई हजारभन्दा बढी बस्ती उच्च जोखिममा रहेका छन् । बडीमालिकामा १६ हजार ८१८, त्रिवेणीमा १८ हजार ३३६, बुढीगङ्गामा, २१ हजार ६७७, बुढीनन्दामा १८ हजार ७७६, गौमूलमा आठ हजार ५१५, जगन्नाथमा नौ हजार ४३२, स्वामिकार्तिकमा १२ हजार ७८४, खप्तड छेडेदहमा १८ हजार ५७५ र हिमालीमा नौ हजार २१४ गरेर एक लाख ३४ हजार १२७ जनसङ्ख्या रहेको छ । गोरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया