२०८२ फाल्गुन ६ | Feb 18, 2026

गीतकार सङ्घ नेपालको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २०
|
816 views

ललितपुर । गीतकार सङ्घ नेपालको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सङ्घको १६ औँ वार्षिक साधारणसभालाई शुभकामना दिँदै सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटाले गीतकारहरुको हकअधिकारको पक्षमा सङ्घ निरन्तर क्रियाशील रहेको र अग्रजदेखि अनुज स्रष्टालाई सम्मान गर्दै आएको बताए । १६औँ वर्षसम्म निरन्तर रुपमा सङ्घले कार्यालय सञ्चालन गरी ठूलो धनराशिको पुरस्कारहरु स्थापना गर्दै आएकोसमेत बताए ।

त्यस्तै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार सबिता कार्कीले सङ्घको १६ औँ वार्षिक साधारणसभालाई शुभकामना दिँदै बौद्धिक सम्पत्तिको संरक्षणमा निरन्तर सहकार्य रहने बताइन् । गीतकारका सिर्जनाले आन्दोलनले भन्दा ठूलो प्रभाव पार्ने बताउँदै मुलुकको दीर्घकालिन चेतना निर्माण गर्ने बताइन् । नेपाली भाषा र संस्कृतिमा गीतकारहरुको ठूलो भूमिका रहेको हुँदा रोयल्टीका विषयमा पनि सचेत रहन आग्रह गरिन् ।


त्यसैगरी सङ्घका सल्लाहकार तथा पूर्वमन्त्री वरिष्ठ गीतकार शंकरप्रसाद कोइराला (एसपी) ले सङ्घले १६ औँ वसन्त पार गरेकोमा शुभकामना दिए । कोइरालाले सङ्घको उन्नति र प्रगति जसरी भएको छ त्योभन्दा अझै उचाइमा लैजान हामी सबै एकजुट हुनुपर्ने पनि बताए । गीतकार सङ्घ अब बालिग भएको हुँदा नेपालभित्र मात्र नभएर डायस्पोरामा पनि यसको सशक्त उपस्थिति रहेको बताए । उनले सम्माजनक रुपमा गीतकारहरुको एकल साँझ गरी उर्जा दिँदै फन्डराइजिङ गर्नुका साथै सरकारसँग पनि सहकार्य गरी बौद्धिक सम्पत्तिको संरक्षणमा लाग्नुपर्ने बताए ।


कार्यक्रमका प्रमुख अतिथि सम्मानित गीतकार राजेन्द्र थापाले १६औँ वार्षिक साधारणसभालाई शुभकामना दिँदै विगतको योगदानको चर्चासमेत गरे । उनले गीतकार सङ्घ मातृसंस्था भएको बताउँदै सम्मानजनक रुपमा आफ्नो स्थान ओगट्न सफल भएको बताए । आफैंले रोयल्टी नपाएको गुनासोसमेत व्यक्त गर्दै गीतकार थापाले गीतकारहरु राजनीतितर्फ नलागेर निरन्तर गीत लेखिराख्नुपर्ने बताए । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले १६ औँ वार्षिक साधारणसभाले नयाँ सन्देश ल्याएको बताउँदै स्थापनादेखि १६ औँ वर्षसम्म निरन्तर सक्रिय गीतकारहरुकै कारण संस्थाले फड्को मारेको बताए । विभिन्न तह र तप्कामा एउटा गरिमा बोकेर आएका व्यक्ति भए पनि गीतकार सङ्घमा आएपछि सबै सदस्य भएकाले समान हैसियत भएको महसुस गरेका छौं ।

गीतकारहरुको रोयल्टी आउने बाटो निकै कठिन भएको र अब प्रोड्युसरको अधिकारका बारेमा पनि सङ्घले नयाँ नीति लिएर अघि बढ्ने बताए । सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व एवम् सम्मानित गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सङ्घका सल्लाहकार पूर्वमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइराला, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार सबिता कार्की, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव श्याम तमोट, सङघका संस्थापक अध्यक्ष डा।कृष्णहरि बराल, संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा, गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, शुभ मुकारुङ, सल्लाहकार डा.भोला रिजाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नारायणगोपाल युवाकोषका अध्यक्ष दिपक केसी लगायतका आतिथ्यतामा सम्पन्न भएको थियो । सङ्घका उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रममा उपस्थित स्रष्टाहरुलाई स्वागत गर्दै बौद्धिक सम्पत्तिको संरक्षणमा सम्पूर्ण स्रष्टाहरुले आफ्नो सिर्जनाका बारेमा सचेत रहेर अगाडि बढ्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया