गौतमबुद्ध विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान स्थगित

काठमाण्डौ २४ मंसिर २०८१-

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्ला दिनमा बाक्लो हुस्सुका कारण उडान अवतरणमा समस्या देखिएपछि तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले अस्थायी रूपमा उडान स्थगित गरेका छन्।

जजीरा एयरवेज, फ्लाई दुबई, र थाई एयर एसियाले मौसमको प्रतिकूलताका कारण उडान रोक्ने निर्णय गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई औपचारिक पत्र पठाएका हुन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, हाल भैरहवामा भिजिबिलिटी १,००० देखि १,२०० मिटरसम्म मात्र छ, जुन जहाज अवतरणका लागि पर्याप्त छैन। ठूला विमानहरूको अवतरणका लागि कम्तिमा १,८०० मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि हालको अवस्थाले त्यसलाई चुनौती दिएको छ।

भैरहवा विमानस्थलमा आरएनपीएआर एप्रोच (Required Navigation Performance Authorization) प्रणालीको अभावले यो समस्या थप जटिल बनाएको छ। आरएनपीएआर प्रणाली भएका विमानस्थलमा ८०० मिटर भिजिबिलिटी भए पनि उडान सम्भव हुने प्राधिकरणले जनाएको छ। यो प्रणाली जडान गर्न माघ १० सम्म लाग्ने बताइएको छ।

एयरलाइन्सले उडान स्थगनका लागि अनुमति माग गरेपछि प्राधिकरणले छलफल गरेर आवश्यक निर्णय लिने जनाएको छ। विमानस्थलको अवतरण समस्याका कारण भैरहवा जाने जहाजहरू काठमाडौंमा डाइर्भट भइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया