
ललितपुर । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको एक वर्षको अवधिमा बैंक खुद ६ अर्ब २० करोड मुनाफा कमाउन सफल भएको छ । उक्त विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षमा बढेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिको तुलनामा १.१० प्रतिशतले बढी हुन आउँछ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशत घटेको देखिएको छ भने खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा भने २.७५ प्रतिशत घटेको छ।
यस्तै नाफासँगै बैंकको प्रतिशेयर आम्दानी समेत सामान्य रुपमा बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ।
त्यसैगरी यस बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी भने १४ रुपैयाँ ११ पैसा रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया