चर्चामा काभ्रेली ‘देवी प्रतिभा’,आध्यात्मिक प्रवचनका लागि देशविदेशमा प्रखर

काठमाडौं १३ साउन २०८१-।

प्रतिभा पराजुली अर्थात् ‘देवी प्रतिभा’, जो कमै उमेरमा आध्यात्मिक प्रवचनका लागि देशविदेशमा प्रखर बनिरहेकी छन्।

छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिएकी हुन्।

भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सामेल हुँदा नेपालीजनमा उनको प्रवचन र प्रचारप्रसार अझ चुलिएको काभ्रेली जनताले महसुस गरेका छन्।

मानवसेवा फाउण्डेशन नेपाललगायतका संस्थाद्वारा आयोजित एकमहिने उक्त कोटीहोममा उपस्थित भक्तजनबाट प्राप्त माया र सद्भावले आफूलाई थप ऊर्जा मिलेको प्रतिभा बताउँछिन्।

यस कोटीहोममा नेपालका प्रवचक राधिका दाशी, पण्डित दीनबन्धु पोखरेल र देवी प्रतिभालगायत विदेशमासमेत ख्यातिप्राप्त पाँच कथावाचकले प्रवचन दिइरहेका छन्।

काभ्रेपलाञ्चोकमा जन्मिएर करिब एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहेकी प्रतिभाप्रति प्रफुल्लित देखिन्छन्, काभ्रेली जनता।

उनको प्रतिभा देखेर गौरवान्वित भएकाले गृहनगर मण्डनदेउपुरलगायत जिल्लाका विभिन्न स्थानमा प्रतिभाको अभिनन्दनसमेत गरिएको छ।

प्रतिभा साधुराम पराजुली र इन्दिरा पराजुलीको माइली छोरी हुन्। बाबु साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्ने गर्दथिन्।

पारिवारिक वातावरण पनि आध्यात्मिकता रहेको अवस्थामा सानैदेखि ‘पण्डित’ बन्ने प्रतिभाको धोको पूरा भएको परिवारले बताएको छ। ‘छोरीले म एक दिन मेरो बुबाआमालाई आफैँले श्रीमद्भागवत कथा वाचन गरेर सुनाउँछु भन्थिन्,’ प्रतिभाको आफ्नो सोच, चाहना पूरा भएकामा साधुराम गर्व गर्छन्।

बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण थिइन्। कोटीहोममा पनि प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउनसक्ने खुबी उनको छ।

उनी संलग्न धार्मिक कार्यक्रममा भीडभाड हुने गरेको छ भने उनीलाई पछ्याउनेहरु पनि त्यत्तिकै देखिन्छन्। अहिले पशुपति कोटीहोममा पनि उनलाई १०/१२ जना अङ्गरक्षकले सुरक्षा दिनुपर्ने बाध्यता रहेको आयोजकले स्पष्ट गरेको छ। सुरक्षाकर्मीलगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उनीसँग छ।

प्रतिभा २३ वर्षको उमेरमै धेरै व्यस्त छिन्।

बुवा साधुरामका अनुसार सुरुको विद्यालय शिक्षा बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी प्रतिभाले गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययनगरी काठमाडौँको वाल्मीकि विद्यापिठमा केही समय अध्ययन गरेको बताउँछिन्।

प्रतिभाको इच्छाअनुसार परिवारले उनलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो।

भागवत् पढ्न छ महिनामै सिकेको अनुभव उनले सुनाइन्।

अध्ययनकै क्रममा प्रवचन दिन थालेकी प्रतिभाले कैयौँ धार्मिक कार्यक्रममा प्रवचन दिएकी छन्। आगामी दिनमा पनि प्रवचनलाई निरन्तरता दिने सोच रहेको उनी बताउँछिन्।

कथा वाचनको सिलसिलामा सात वर्षपछि प्रतिभा नेपाल आएकी हुन्। उनीको प्रवचनको सारमा ‘धर्म मानवलाई नियममा बाँध्ने एउटा सूत्र’ हो।

‘सेवाभावले जनजनमा धार्मिक गतिविधि प्रचार गर्न सकियोस् भन्दै म यस क्षेत्रमा लागेको हो’, उनी भन्छिन्, ‘पत्थरले पनि मूर्तिको आकार पाउन निकै चोट सहनुपर्छ। मेरो जीवनमा पनि यस्ता समस्या धेरै आए, म ती दिनहरु भुल्न सक्दिन।’

प्रतिभाले काभ्रेपलाञ्चोकमा आज आयोजित अभिनन्दन कार्यक्रममा आफू संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार, जन्मिएको ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने बताउँछिन्।

उनीको रुचिअनुसार पढाइको व्यवस्था गर्न परिवारलाई धेरै मिहेनत गर्नुपरेको थियो। प्रतिभा सानो छँदा जिद्दी स्वभावको रहेको बताउने बाबु साधुराम उनको जिद्दी नराम्रो कामका लागि भने नरहेको बताउँछन्।

‘हामी उनको चाहनाविपरीत गएनौँ, उनी आफैँले एउटा बाटो समाएकी छिन्, अरुलाई पनि प्रेरणा दिएकी छिन्, देशविदेशमा नाम कमाएकी छिन्, उनी हाम्रो छोरी मात्र होइन, मण्डनदेउपुरको छोरी, काभ्रेपलाञ्चोकको सान र देशकै एउटा नाम जस्तै प्रतिभा भएकामा हामी निकै खुसी भएको छौँ’, बाबु साधुरामले भने। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया