२०८२ आश्विन १६ | Oct 02, 2025

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
714 views


ललितपुर । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छ बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । उक्त समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन् ।

यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच एवं आवश्यकताअनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि भएको छ । बैठकले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्यस्थलसम्म जानसक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन एवं कार्यालयको यकीन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायत सामग्री सवारीसाधनबाट ओसारपसार हुन नपाउनेगरी तत्काल सूचना जारी गर्ने निर्णय पनि गरेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया