२०८२ आश्विन १६ | Oct 02, 2025

चार प्रदेशका ३० जिल्ला उच्च जोखिममा

BusinessPati बिजनेस पाटी
|
२०८१ असार २१
|
102 views

काठमाडौं   २१ असार २०८१

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशका ३० जिल्लाहरु उच्च जोखिममा रहेको बताएको छ। महाशाखाले जारी गरेको मनसुन विशेष मौसम बुलेटिन अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लाहरु उच्च जोखिममा रहेका छन्।

विभागले कोशी प्रदेशका जिल्लाहरुमा मध्यम जोखिम रहेको बताएको छ भने मधेर र बागमती प्रदेशका केही जिल्लाहरुलाई न्यून जोखिममा रहेको बताएको छ।

विगत केहि दिनदेखि मनसुन न्यून चापिय रेखाका कारण नेपालमा सक्रिय भएको मनसुन अझ केही दिन नेपालको दक्षिण सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना रहेको विभागले बताएको छ। सोही कारण आगामी आइतबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

आईतबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न विभागले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया