
ललितपुर। नेपाल चिकित्सक संघले पुनः आन्दोलनको चेतावनी दिएको छ । संघले सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेको छ ।
यसअघि सरकारले तीन मन्त्रीको सहभागितामा चिकित्सक संघसँग सहमति गरेको थियो । सहमति गरिए पनि कार्यान्वयनमा नआएको भन्दै संघले आज (बुधबार) एक विज्ञप्ति जारी गरी सरकारले चिकित्सक संघलाई पुनः सशक्त आन्दोलनमा जान बाध्य बनाएको आरोप लगाएको छ ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा सङ्घ र नेपाल सरकारबिच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति भए पनि हालसम्म कार्यान्वयन नभएको उल्लेख गरिएको छ। सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने भनिए पनि अझैसम्म ठोस प्रतिफल नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विगतमा सरकारी उच्च पदस्थ अधिकारीहरूसँग सहमति गरिए पनि पालना नभएकोमा दुःख व्यक्त गरेको छ । आगामी दिनमा ती अधिकारीहरूको मौखिक वा लिखित प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने स्पष्ट पारेको छ। यस्तो प्रवृत्तिले सरकारको विश्वसनीयता गुम्ने खतरा नेपाल चिकित्सक संघले औँल्याएको छ।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतले स्वास्थ्य संस्था र चिकित्सकलाई तोकिएको जरिवाना सम्बन्धी फैसलाको विरोध गर्दै त्यसको खारेजीको माग गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया