२०८२ आश्विन १६ | Oct 02, 2025

चिहानस्थलबाट फर्किन बाध्य पारिनु पाशविकता हो : पूर्वगृह राज्यमन्त्री अन्सारी

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ५
|
204 views

काठमाडौं । ईसाई धर्मावलम्बी भएकै कारण दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–८ मा एक मृतकको शव सामुदायिक वनमा दफन गर्न नदिइ जबरजस्ती फर्काइएको घटना सार्वजनिक भएपछि नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुख, आक्रोश र आपत्ति जनाएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो। रिजवान अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा यो घटनालाई अत्यन्त अमानवीय, धर्मनिरपेक्ष नेपालको संविधान र मानव अधिकारको आत्मासँग खेलवाड गरिएको भन्दै कडा शब्दमा भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कसैको मृत्यु आफैंमा गहिरो पीडा हो। त्यसमा पनि धर्मकै कारण अन्त्येष्टि गर्न नदिइनु, परिवारलाई चिहानस्थलबाट फर्किन बाध्य पारिनु — यो केवल संवेदनहीनता होइन, यो पाशविकता हो।”

पार्टीका अनुसार, यस प्रकारको व्यवहारले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धर्मनिरपेक्ष मुलुकको मर्म र आत्मा माथि चोट पु¥याएको छ । मृतकको धर्म, संस्कार र विश्वासअनुसार अन्त्येष्टि गर्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो। तर यो घटनाले त्यस अधिकारमाथि नै निर्दयी प्रहार गरेको छ।

नेपाल संघीय समाजवादी पार्टीले सो घटनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लाजमर्दो कालो धब्बा भन्दै दोषीलाई तुरुन्त पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।

“समाजमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सम्मान कायम गर्न चाहने हामी सबैले यो घटनाप्रति एकबद्धरूपमा आवाज उठाउनु आवश्यक छ। मृतकको आत्मालाई सम्मान दिन सकिएन भने हाम्रो मानवता नै खतरामा पर्छ।” विज्ञप्तिमा भनिएको छ ।

नेपाल संघीय समाजवादी पार्टीले सो पीडादायी घटनाले सम्पूर्ण ईसाई समुदायलाई अपमानित गरेको उल्लेख गर्दै, यस प्रकारको विभेद अन्त्य गर्न स्थायी कदम चाल्न सरकारसँग जोडदार माग गरेको छ ।

पार्टीले शोकमा डुबेका पीडित परिवारप्रति गहिरो सम्वेदना प्रकट गर्दै र दिवंगत आत्माको चिर शान्ति कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया