
ललितपुर । आज एकैदिन छ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ । यसका साथै आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल गरिनेछ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ भने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिनेछ भने आजै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरुमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गरिनेछ ।
यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवम् प्रतिवेदनको मस्यौदा उपर छलफल गरिने कार्यसूची रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया