२०८२ आश्विन १६ | Oct 02, 2025

छ वर्षपछि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३
|
204 views

काठमाडौं । छ वर्षपछि बार्सिलोना युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो ।

बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३–१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ बार्सिलोना समग्रमा ५(३ को सेमिफाइनल पुगेको हो ।

डर्टमुण्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो। घरेलु समर्थकहरूको जोशिलो साथ र सर्हो गुइरासीको प्रभावशाली प्रदर्शनले टोली प्रेरित भएको थियो।

गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन्। यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे। समूह चरणको खेलमा बार्सिलोनासँगको २(३ को हारमा उनले डर्टमुण्डका दुबै गोल गरेका थिए। यसपटक ह्याट्रिक पूरा गरे, तर त्यो प्रयास पनि नतिजा बदल्न पर्याप्त भएन।

उनको प्रदर्शनले खेलमा डर्टमुण्डका खेलाडी र समर्थकहरूमा आशा जगाएको थियो, जब बार्सिलोनासँगको दूरी एक समय ४(३ मा झरेको थियो। गुइरासीले ११ औं पेनाल्टीमा पहिलो गोल गरे। उनले दोस्रो गोल ४९ औं मिनेटमा गरे ।

डर्टमुण्डका डिफेन्डर रामी बेन्सेबैनीले रोबर्ट लेवान्डोस्कीको दबाबमा आत्मघाती गोल गरेपछि बार्सिलोना फाइदा पुग्यो ।

गुइरासीले ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, पहिलो लेगको फराकिलो हारका कारण टोली अघि बढ्न सकेन। बार्सिलोनाले अब सेमिफाइनलमा इन्टर मिलान वा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । अर्को क्वाटरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३–२ ले पराजित भएपनि पिएसजी ५(४ को अग्रतासहित सेमिफाइनल पुगेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया