
ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले विभिन्न आठ प्रकारका रोगमा अब स्वास्थ्य बिमा कार्यक्रम मार्फत बिरामीले २ लाखको उपचार खर्च पाउने बताएका छन् ।
आगामी साउन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बिमा अन्तर्गत अब सरकारले २ लाखसम्मको उपचार खर्च ब्यहोर्ने भएको हो ।
आगामी साउन १ गतेदेखि क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, किकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले सो सुविधा प्राप्त गर्न सक्ने मन्त्री पौडेलले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।
“कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं । स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौ”, उनले लेखेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया