लोकराज अधिकारी
ललितपुर । सोमवार बिहान करिब साढे आठ बजे ह्वाटस एपमा एकाएक नयाँ नयाँ नम्बरबाट म्यासेज आउन थाल्छ । के रहेछ भनेर यसो हेरेको कसैले W1 नाम दिएर ग्रुप बनाएको रहिछ । कोही चिनेको मान्छेले कुनै प्रयोजनका लागि जोडेको होला भन्ठान्दै त्यसमा आउने म्यासेजहरू हेर्न थाल्छु ।
मलाई जोडिएको नम्बर साउथ अफ्रिकाको +२७६५६१११८४२ थियो । ट्रु कलरमा चेक गर्दा Lwazi My Son देखियो । नचिनेको पक्का भयो । त्यतिन्जेल सम्म यो ग्रुपमा एउटा अमेरिका अर्को भारत बाहेक नेपालका १४६ वटा फोन नम्बरका प्रयोग कर्ता जोडिइसकेका थिए । यस मध्य ७ वटा फोन प्रयोगकर्ताको नाम पनि देखिन्छ बाँकी नम्बरहरू मात्र । भारतको नम्बर प्रयोगकर्ता सहित ४ जना एडमिन रहेको यो ग्रुपमा सपनाको नाम छ । तर ट्रु कलरमा उक्त नम्बर राखेर हेर्दा नाम कसैको आउदैन् । ग्रुप एडमिनका रूपमा रहेका एक भारतीय नम्बर प्रयोगकर्ता सँगै अरू दुई नेपाली नम्बर प्रयोगकर्ता छन् ।
त्यस्तै ग्रुपमा जोडिएका मध्य अन्य केही नामहरू आरती , देवी ,धर्मराज , मनिता ,नैना , र ब्रो टेक प्रालि भनेर देखिन्छन् । यता ब्रो टेक भनेर देखिने नामको नम्बर ट्रु कलरमा हेर्दा तामाङ थरको पुरुष देखिन्छ ।

झ्याप्प दिमागमा अघिल्लो वर्ष पुस ९ गते रातोपाटीमा शङ्कर अर्यालले जब ‘स्क्यामर’ले नै खातामा धमाधम पैसा पठाए….. शीर्षकमा लेखेको स्क्याम स्टोरी आउँछ । त्यसपछि ती प्रोफाइलहरू दोहोराएर चेक गरेपछि म्यासेजहरू पढ्न थाल्छु । ग्रुपमा नाम भएको मोबाइल प्रयोगकर्ता मनिता , आरती ,देवीले प्रश्न गर्छन् ग्रुपका बारे । त्यसमा एपेक्स ग्रुप कम्पनीको रूपमा आफ्नो परिचय होस्टको रूपमा दिँदै एक मोबाइल प्रयोगकर्ताको जवाफ आउँछ यहाँहरू माझ खुसी साटन आएको छु । पार्ट टायम जबको रूपमा पैसा कमाउने अवसर लिएर आएका छौ । केही टास्क पुरा गर्नासाथ पैसा आउँछ । अनि केही टास्क दिइन्छ । ग्रुप मध्यकैबाट लौ मैले पैसा पाए भनेर १५० रुपैयाँ इ सेवा मार्फत प्राप्त गरेको भनेर स्क्रिन सट पनि हालिन्छ । बेला बेला यो अनधिकृत त हैन नि भनेर पनि सोधिन्छ । टास्क पुरा गरेर हाम्रो एडमिनलाई पठाइहाल पनि भनिन्छ ।
सबै हेर्दा ग्रुपमा जोडिएकालाई कसरी प्रभाव पार्न सकिन्छ भनेर प्लान अनुसार नै संवाद शैली अपनाएको देखिन्छ । त्यस पछि पनि म्यासेज आइरहेको हुन्छ मैले पढ्न छोडिदिन्छु । कार्यालय तर्फ हिडछु । कार्यालय आए पछि बिरेन्द्रको शालिकमा माल्यार्पण हुँदै गरेको जानकारी पाएपछि गएर एउटा भिडियो खिच्छु अनि अफिसियल फेसबुक पेजमा पोष्ट गर्छु । त्यतिन्जेलमा छोरीको दाँतको उपचार पनि सकाउँछु । अनि ल्यापटपमा नियमित कर्ममा जोडिन्छु । यता मोबाइलमा त्यही ग्रुपको म्यासेज आइरहन्छ ।
फेरी पनि उही कुरा । अनि अब त भएन चेक गरिहालौँ भनेर ‘ठगिन बाट जोगिनु होला’ भनेर म्यासेज पठाउँछु । एडमिनले एक सेकेन्डमै डिलिट हान्छ । त्यस पछि शङ्कर अर्यालको त्यो पुरानो आर्टिकलको लिङ्क हाल्दिन्छु । एडमिनले एक सेकेन्डमै डिलिट हान्छ अनि मलाई म्यासेज गर्न नमिल्ने बनाएर रिमुभ हान्छ । उसलाई थाहा नभएको तर मसँग भएको जानकारी भने उसलाई यही लेख मार्फत दिन्छु म सँग सबै स्क्रिन सटहरू सुरक्षित छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया