२०८२ आश्विन १६ | Oct 02, 2025

जर्मनीले नेपाललाई विद्युत् वितरण सुदृढीकरणका लागि १ अर्ब ४६ करोड अनुदान दिने

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर ४
|
255 views

काठमाण्डौ ४ मंसिर २०८१ 

जर्मनीले नेपाललाई विद्युत् वितरण सुदृढीकरण परियोजनाका लागि १ करोड युरो (करिब १ अर्ब ४६ करोड रुपैयाँ) अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

आज अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच यस अनुदान सम्झौतामा हस्ताक्षर भएको हो।

अनुदान रकम नेपाल विद्युत् प्राधिकरणमार्फत भरतपुर (बागमती प्रदेश), बुटवल–भैरहवा (लुम्बिनी प्रदेश) र पोखरा (गण्डकी प्रदेश) लगायतका क्षेत्रमा विद्युत् वितरण संरचना सुदृढीकरणमा खर्च गरिनेछ। वातावरणमैत्री प्रविधिको प्रयोगमार्फत लक्षित क्षेत्रका जनतालाई भरपर्दो र दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्न परियोजनाले ऊर्जा दक्षता र वितरण विश्वसनीयता सुधार्ने लक्ष्य लिएको छ।

सम्झौतामा २०२५ देखि परियोजना सुरु गरी सरकारको वार्षिक बजेट प्रणालीमा समावेश गरिने उल्लेख गरिएको छ।

कार्यक्रममा सहसचिव शर्माले लक्षित क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता सुधार गर्न यस सहयोगले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै जर्मनी सरकारप्रति आभार व्यक्त गरे।

त्यस्तै, जर्मन राजदूत डा. प्रिन्जले जलवायु–मैत्री प्रविधिको प्रयोग गरी नेपालमा विद्युत् वितरण प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गरे। उनले यस सम्झौताले नेपाल–जर्मनी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया