२०८२ भाद्र १८ | Sep 03, 2025

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १८
|
153 views

दोधारा चाँदनी (कञ्चनपुर) जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका निमित पानीका स्रोत हुन् । “हामीसँग पुँजीगत बजेट रु ३४ लाखमात्र छ । यति रकमले निकुञ्जभित्र पर्यटनकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी वाग्लेले भन्नुभयो । निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् । शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवं विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ । आरक्षमा असङ्ख्य जीवजन्तु तथा वनस्पति पाइन्छन् । यहाँ धेरै सानाठूला तालतलैया पनि छन् । यो सिमसार क्षेत्रको संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सूचना अधिकारी वाग्लेको जोड छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement