
ललितपुर । जापानमाथि नेपालले ९ विकेटको सहज जित हासिल गरेको छ । एसिसी मेन्स यु–१६ एलिट कपमा नेपालले जापानमाथि सहज जित हासिल गरेको हो ।
मलेसियामा जारी खेलमा मंगलबार नेपालले जापानमाथि ९ विकेटको जित हात पारेको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
मंगलबारको खेलमा नेपालका तर्फबाट शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन जोडे । अघिल्लो खेलका ‘प्लेयर अफ द म्याच’ रहेका प्रसिद्ध जैसी ३७ बलमा ३३ रनमा अविजित रहे । ओपनर जोय थापा १ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा नै समेटियो । नेपालको उत्कृष्ट बलिङ सामू जापानको ब्याटिङ चल्न सकेन ।
जापानका कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रन बनाए । जापानका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाली बायाँ हाते स्पिनर शुभम खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई तथा जापानले भुटानलाई पराजित गरेको थियो ।
नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया