ललितपुर - ऋषि लामिछाने
जीवन त आखिर
सासहरूको गन्ती मात्रै होइन
यो त अनुभुतिहरूले लेखिएको एक अधुरो किताब हो !
कहिले हाँसोको शिर्षक हुन्छ
कहिले आँशुको अध्याय
कहिले आफ्नै मान्छेहरू बीच पनि
मन एक्लै रोइरहेको हुन्छ
चुपचाप
कसैलाई नसुनाई
कसैलाई नदेखाई !
यो जगत पनि कस्तो अचम्मको छ
यहाँ सबै दौडिरहेका छन
तर सबैको गन्तव्य एउटै छैन !
कोही धन खोज्दैछन
कोही मान खोज्दैछन
कोही नामको पछाडि कुदिरहेका छन
तर कोही यस्ता पनि छन
जो केवल
एक साँचो मन
एक न्यानो साथ
र एक भरोसायोग्य सम्बन्ध खोजिरहेका छन !
संसारको भीडमा
सबैभन्दा धेरै अभाव
मान्छेको होइन
मन मिल्ने मान्छेको हुन्छ !
किनकि
हात समाउने धेरै भेटिन्छन !
तर मन सम्हाल्ने अत्यन्तै कम !
सम्बन्धहरू त रगतले मात्रै बाँधिदैनन
कहिलेकाही एक मिठो बोलीले
कहिलेकाही एक साँचो व्यवहारले
कहिलेकाही एक निश्छल साथले
अजनबीलाई पनि आफ्नोभन्दा बढी आफ्नो बनाइदिन्छ !
तर समय
समयले धेरै कुरा सिकाउछ
कसले साथ दिन्छ
कसले साथको नाटक गर्छ
कसले आँखामा प्रेम बोकेर आउछ
र कसले स्वार्थको छायाँ लिएर आउछ
जीवनको यो अनन्त यात्रामा सबै बिस्तारै खुल्दै जान्छ !
जीवनले सिकायो
सबैलाई खुशी पार्न खोज्दा आफ्नै मन थाक्दोरहेछ !
जगतले सिकायो
जति चम्किलो देखिन्छ त्यति सत्य हुदैन !
र सम्बन्धहरूले सिकाए
साँचो माया कहिल्यै शब्दले प्रमाणित गर्नुपर्दैन !
त्यो त
समयले, व्यवहारले र कठिन दिनहरूमा देखिएको साथले आफै प्रमाणित गरिदिन्छ !
मान्छेहरू भन्छन जीवन छोटो छ
तर मलाई लाग्छ जीवन छोटो होइन
साँचो साथ छोटो हुदै गएको छ !
जगत ठुलो होइन मनहरू साँघुरा हुदै गएका छन !
सम्बन्ध कमजोर होइनन अपेक्षाहरू भारी हुदै गएका छन !
तै पनि जीवन अझै सुन्दर छ !
यदि कसैको आँखामा
आफ्नो लागि सम्मान बाँकी छ भने जगत अझै राम्रो छ !
यदि मानवता कतै मरेको छैन भने र त्यहाँ स्वार्थभन्दा माथि माया बाँचिरहेको छ भने सम्बन्ध अझै पवित्र छन !
आऊ
आज विश्व कविता दिवसमा
हामी फेरि एकपटक
जीवनलाई महसुस गरौ
जगतलाई बुझौ
र सम्बन्धहरूलाई
निभाउने कला सिकौ !
किनकि
जीवन त बितेर जान्छ
जगत त बदलिरहन्छ
तर
मनमा बस्ने केही सम्बन्धहरू
समयले टाढा लैजान सक्दैन
यदि
जीवनले धेरै रुवायो भने पनि मुस्कान छोडन नसीक
यदि जगतले धेरै परिक्षा लियो भने पनि मानवता तोडन नसीक
र यदि सम्बन्धहरूले धेरै चोट दिए भने पनि साँचो माया गर्न कहिल्यै नछोड !
किनकि
यही जीवनको सौन्दर्य हो
यही जगतको सत्य हो
र यही सम्बन्धहरूको अमर कविता हो !

बिजनेस पाटी