जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ लोकार्पण तथा परिसम्वाद कार्यक्रम सम्पन्न

जयराम बिडारी
,काठमाण्डौ
९ बैशाख २०८१
यात्राको निरन्तरता नै जीवनको प्रमुख पाटो हो । समालोचनाका क्षेत्रमा प्रसिद्ध नाम जीवन जीवन्तद्वारा लिखित उपन्यास ‘चरैवेति’ को लोकार्पण तथा परिसम्वाद कार्यक्रम सुसम्पन्न गरिएको छ । पेज टर्नरको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारीजात कक्षमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रम साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षता तथा आख्यानकार नयनराज पाण्डेको प्रमुख आतिथ्यमा सुनपकुवा मा.वि.मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाको विशेष आतिथ्यमा समिक्षक द्वय कवि,उपन्यासकार सुमन वर्षा तथा अर्का समिक्षक त्रिविवि नेपाली केन्द्रीय विभागका उप प्राध्यापक आख्यानकार डा.अशोक थापा लगायत सयौं साहित्यानुरागीहरुको समुपस्थितिमा सो कार्यक्रम सुसम्पन्न गरिएको थियो ।कार्यक्रममा साहित्यकार भुवनहरी सिग्देलले अभ्यागतहरुलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा सुनपकुवा माध्यमिक विद्यालय, मङ्गलबारे मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटालाई पूर्वविद्यार्थीहरुका तर्फबाट दोसल्ला ओढाई ताम्रपत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।

उक्त कार्यक्रममा अतिथि वक्ता सुमन वर्षाले उपन्यास कै क्षेत्रमा डेढ दशकदेखी खोज अनुसन्धान गरिरहेका उपन्यासकार जीवनन्तले पुरातनवादी परम्पराबाट विश्वास गुमाई जातिय र आर्थिक रुपले बिपन्न वर्गमा परेको समस्यालाई साक्षी भावमा हेरेर नदीको बहावमा बग्दै गरेको ढुङ्गालाई चिल्लो शालिग्रामको रुपमा प्रस्तुत गर्न सफल रहेकोमा खुशी व्यक्त गर्दै भौगोलिक आञ्चलिकता,पूर्वी नेपालको किपट प्रथा, बसाईं सराई र स्थानांतरण,प्रस्तुत गरिएको सन्दर्भलाई सजीव ढङ्गले चरैवेति उपन्यासमा प्रस्तुत गरी नविन सत्यको खोजीका लागि निरन्तर अघि बढिरहनुपर्छ भन्ने भाव बोकेको हुनाले कृति उत्कृष्ट रहेको विचार व्यक्त गरिन् ।

परिसम्वाद कार्यक्रममा उपन्यास विधामा आधारित रहेर लामो समयदेखी खोज अनुसन्धान गरिरहेका उपन्यासकार जीवन्तले धर्मान्तरणको वर्तमान सामाजिक यथार्थतालाई आर्थिक र राजनैतिक रङ दिएर हाम्रा आदिबासी र जनजातिहरुको मौलिक पहिचान समाप्त पार्ने तितो यथार्थतालई धर्मका नाममा गरिने कुनै पनि अतिबाद र त्यसका नाममा खोजिएको सत्य सर्वकालिक र सर्वमान्य नहुने भएकोले मानवजातिले सदैव नवीन सत्यको खोजी गरिरहनुपर्ने बताउँदै धर्म परिर्वतन गरेपछिको सनातनीहरुलाई हेर्ने दृष्टिकोण र सनातनीले हेर्ने दृष्टिकोण बीचमा प्रश्न र संशय पश्चात सामाजिक परिवेशमा उब्जिएका प्रश्नहरुको समाधानका लागि लेखकीय भूमिकामा चरैवेति लिएर समालोचना विधाबाट आख्यान क्षेत्रमा आएको विचार व्यक्त गरेका थिए ।

उक्त अवसरमा समीक्षक थापाले रुपमति उपन्यास देखि आजसम्म आइपुग्दा संरचनामा फेरबदल हुनु स्वभाविक रहेको हुनाले धर्मपरिर्वतन जस्तो गहन र सम्बेदनशील विषयवस्तुको उठान गरी चराचर जगत स्थिर नभई चलाएमान रहेको हुनाले चरैवेतिले नेपाली उपन्यास परम्परामा नौलो अभियानको थालनी गरेको बताउँदै उपन्यासमा बाइबलको समाजशास्त्रीय व्याख्या गरी तिनका विरोधाभाषलाई

विषयवस्तु बनाइएकोले पाठक र समीक्षकको हेर्ने दृष्टिकोणमा समानताको खोजी गरिनुपर्ने भन्दै जीवनमा अभाव र दुःख रहे पनि फेरी उठेर निरन्तर हिड्ने साहश गरिरहनुनै सार्थक जीन्दगीको पर्याय रहेको बताउंदै कृति सफलताको शुभकामना व्यक्त गरेका छन् । यसैक्रममा प्रमुख अतिथिका रुपमा रहेका आख्यानकार पाण्डेले समग्रतामा कार्यक्रमको ब्याख्या गर्दै लेखक समिक्षकहरु स्वयं पनि एक अर्काको लेखन कलावाट सिक्दै र प्रयोग गर्दै जाने अवसरको रुपमा आफूले पाएको भन्दै जीवनमा पूर्णताको अपेक्षा गर्न कठिन हुनाले उपन्यासमा कतिपय कमजोरी रहेको पनि हुन सक्ने बताउंदै उठान गरिएको विषयवस्तु चोटिलो रहेकोले पाठकको मन जित्न सक्ने विचार व्यक्त गरे ।

कार्यक्रममा अभिनन्दित सुनपकुवा माविका प्रधानाध्यापक सापकोटाले आफ्ना विद्यार्थीहरुले गरेको उन्नति र प्रगतिमा आफूलाई अत्यंत खुशी मिल्ने भएकोले पेशमेकरको भरमा धानेको आफ्नो जिन्दगीमा अझै थप उर्जा मिलेकोले जीवनको जिजीविषा अझै बढेर गएको बताउँदै आफ्नो चेलाको कृति सफलता सहित आख्यानको उडान समेत सफलतापूर्वक अघि बढिरहोस् भन्दै लेखकीय सृजनशीलताको कामना गरे ।

लोकार्पण तथा परिसम्वाद गरी दुई चरणमा सम्पन्न गरिएको उक्त कार्यक्रमको सञ्चालन युवापुस्ताका सशक्त कवि तथा एक्लो महारथीका सर्जक महेश क्षितिजले चोटिलो र प्रभावकारी भूमिकाका साथ सम्पन्न गरेका थिए । सयौंका संख्यामा उपस्थित साहित्यानुरागी तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रम सभ्य एवम् भव्य रुपमा सम्पन्न गरिएको थिषो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया