ललितपुर - ललितपुर । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने निर्णय गरेको छ ।
आन्दोलनमा घाइते भएकाहरूको अवस्थालाई हेरेर अर्थात् अपाङ्गताको आधारमा सरकारले आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ ।
सोही कार्यविधिअनुसार कस्ता व्यक्तिले कति निर्वाह भत्ता पाउने भन्ने टुंगो लगाइएको हो । सामान्य घाइते भएकाहरुलाई भने कुनै किसिमको नगद राहत व्यवस्थापन गरिएको छैन ।
तर, मध्यम घाइतेले मासिक ४ हजारका दरले निर्वाह भत्ता पाउनेछन् भने गम्भीर खालका घाइतेले मासिक ९ हजारसम्म निर्वाह भत्ता पाउने व्यवस्था गरिएको छ । यस्तै, अति गम्भीर घाइतेलाई भने जीविकोपार्जन भत्ताबापत सरकारले मासिक १८ हजार दिने भएको छ । कार्यविधिको उपदफा (१०) बमोजिम यो भत्ता महँगीका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान भने राखिएको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण २९ मंसिरसम्म तीन जिल्लाका (काठमाडौं, कास्की र चितवन) १८३ जनाको सम्पन्न भएको छ ।
वर्गीकरण मध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन् । तीमध्ये काठमाडौंमा कुल १६० घाइतेको वर्गीकरण भएको छ । जसमध्ये १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते छन् ।
यस्तै, कास्की जिल्लामा हालसम्ममा ७ जना घाइतेहरू वर्गीकृत भएका मध्येमा अति गम्भीरमा दुई जना, गम्भीरमा तीन जना र सामान्यमा दुई जना घाइतेहरू वर्गीकरण भएका छन् भने चितवनमा कुल ७ जना घाइतेहरूको वर्गीकरण भएकोमा अति गम्भीर र गम्भीरमा कोही पनि वर्गीकरणमा नपरेको र मध्यम र सामान्यमा क्रमशः ३ र ४ जना वर्गीकृत भएका छन् ।
७४ स्वास्थ्य संस्थाबाट स्वास्थ्य मन्त्रालयमा आएको विवरण अनुसार जेनजी आन्दोलनमा घाइते भएकाहरूको संखया २ हजार ५२२ रहेको छ ।

बिजनेस पाटी