
रबिन चित्रकार
जेन-जीहरुले देशमा व्याप्त भ्रष्टाचार, कुशासनको विरोध र विभिन्न प्रकारका सामाजिक सञ्जाल दुईतिहाई बहुमतको हुंकार फुक्ने एमाले, कांग्रेस सरकारले गरेको प्रतिबन्धका विरुद्ध २०८२ भाद्र २३ गते शान्तिपूर्ण विरोध २७ घण्टा अवधिमा नै ठुलो जनधनको क्षति भई अभूतपूर्व रुपमा सफल विद्रोह हुन पुगेकोछ । जुन विद्रोहले २००७ देखि आलोपालो गरी देशमा भ्रष्ट, अनैतिक, स्वच्छन्द रुपमा राज्य सत्ताका साम, दाम, दण्ड भेदलाई आफ्नो अनुकूल प्रयोग गर्दै आएका ठूला पार्टी भन्ने एमाले, कांग्रेस, माओवादी एवं राजावादीलाई समेत सबक सिकाई दिएकाछन्, युवाहरुको शक्तिले । यो विद्रोह देशको ईतिहासमा अवश्य पनि स्वर्ण अक्षरले कोरीनेछ ।
जेन-जीहरुको यो प्रथम चरणको विद्रोह सफलताको रापताप, दवावले राष्टपतिद्धारा आवश्यकताको सिद्धान्तका आधारमा नेपालको संविधान, २०७२ को धारा ६१ को उपधारा ३ र ४ प्रयोग गरी अन्तरिम सरकार गठन गरी देशकै प्रथम महिला प्रधानमन्त्री शुशीला कार्कीको नियुक्ति लगत्तै प्रधानमन्त्रीकै सिफारिशमा राष्टपतिले संसद भंग र २०८२ साल फागुन २१ गते प्रतिनिधि सभा, संसदको निर्वाचन घोषणा गरेका छन् । प्रधानमन्त्रीमा बहाल भएसंगै मृतक सबैलाई शहिद घोषणा गरी मृतकका परिवारहरुलाई पन्ध्र लाख रुपैंया राहत स्वरुप सहयोग गर्ने र घाईते सबै व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने एवं घाईते भई कथंकदाचित अपाङ्ग हुने भएमा तिनको सहज रुपमा बांकी जीवन व्यतित गर्नका लागि आवश्यक ब्यबस्था गरी दिने समेत निर्णय गरेकोछ । साथै सक्षम र योग्य मन्त्रीहरु समेत क्रमशः नियुक्ति भैईरहेकाछन् ।
यो विद्रोह सफलताको पहिलो सिढीं मात्र हो, यसैले मात्र देश र जनताको अवस्थामा परिवर्तन पक्कै पनि आउने छैन । भ्रष्टहरुले २००७ देखि आफ्नो शासन, सत्ता चलाउन आफ्नो अनूकूल बनाएका दलतन्त्र, नेतातन्त्र, कर्मचारीतन्त्र, माफियातन्त्र र विचौलियातन्त्रका पांचैतन्त्रका संरचनाहरुलाई पूर्ण रुपमा नष्ट एवं ध्वष्त नगरे सम्म यो विद्रोह पूर्ण रुपमा सफल भएको मानिदैन, हुदैन पनि र जनताले सांच्चीकै अवस्था फेरेको अनुभूति पाउने छैन र देशमा सुशासन र विकास समेत हुने छैन । यो एकदम चुनौतीपूर्ण चरणको कार्य गर्न बांकी छ । यस पांचैतन्त्रलाई सखाप पार्न जेनजीहरुका प्रत्येक युवाहरुले कुनै वहकावै, लोभ लालचमा नफसी, गहन रुपमा २३ र२४ गतेको प्रथम चरणको विद्रोहलाइ आत्मसात एवं थप शक्ति संचय गरी विद्रोहमा शहिद भएका चार दर्जन भन्दा बढी होनाहार बालबालिका देखि यूवाहरुको वलिदानलाई किन्चित पनि खेर जान नदिन जेनजीहरु एकजुट भई समान धारणा रहेका अन्य देशभक्त, न्यायप्रेमी नागरिकहरुलाई समेत गोलवन्द गरी अगाडी बढ्नु पर्ने नै हुन्छ ।
देशमा भएको २००७ साल, २०४६ साल र माओवादी आन्दोलनको शुरुवात हुदै २०६२-०६३ मा भएका सबै ब्यबस्था परिवर्तन सम्झौता परस्त भई यी कांग्रेस, कम्यूनिष्ट, माओवादी, राजावादी एवं राजाले समेत आलोपालो, भागवण्डा गरी सत्तामा बसी देशलाई लूटी देशका होनाहार युवा जनशक्तिहरुलाई ५० डिग्री तापक्रम भएको देशमा गई आफ्नो ज्यानको जोखिममा राखि रोजगार गर्न जान वाध्य पारी देशलाई कंगाल बनाएका छन् र रेमिट्यान्सका नाममा प्रत्येक दिन ३,४ जना होनाहार युवाहरुका लाश सहितका बाकसहरु देशमा भित्री रहेको कहाली लाग्दो छ ।
यसको कारक तत्व यी पांचैतन्त्रलाई नष्ट, ध्वस्त पार्ने अभियानमा बडो होशियारपूर्वक लाग्नु पर्ने हुन्छ । आगामी संसदको निर्वाचनमा जेन-जीहरु र जेन-जीहरुको भावनालाई कदर एवं आत्मसात तथा राष्ट्रभक्त , देशभक्त, स्वाभिमान व्यक्ति एवं दलहरुको बहुमत ल्याउनु नै पर्ने क्रममा विभिन्न प्रकारका बाधा, व्यवधान खडा गर्ने, जालझेल गर्ने, हत्या गर्ने जस्ता विविध हर्कत यी ठूला भनिने दलहरु, माफियाहरु, भ्रष्ट कर्मचारीहरु एवं विचौलियाहरुले अवश्य पनि प्रयास गरिनेछन् । यसको उदाहरण जेन-जीहरुको पहलो चरणको विद्रोह सफल भएको हप्ता दिन पनि वितेको छैन, मृत्युवरण हुनेहरुको चितामा दाहासंस्कार सम्म पनि गर्न भ्याए छैन, यी भ्रष्ट, हत्यारा तत्कालिन सरकारका दलहरुले संसद विघटनको विरोध गरी जेनजीहरुसंग वदलाको चेतावनी सहित मर्ने, मार्ने जस्ता आततायी अभिव्यक्ति एवं भौतिक रुपमा समेत आक्रमण गर्ने प्रयासले प्रतिविद्रोह गर्ने दुस्साहस गर्न थालेकाछन् । यसमा देशभरका सम्पूर्ण जेन-जीहरुले बडो सचेतपूर्वक, होशियारपूर्वक त्यस्ता भ्रष्टहरुलाई निमट्यान्न पार्न निर्भिक, निडर एवं एकजूट सहकार्य गरी अगाडी बढाउनु पर्ने नै हुन्छ । यसका लागि जेन-जीहरुले देहायका बिषयहरुमा ध्यान दिनु पर्ने देखिन्छ । नत्र भने प्रतिविद्रोह हुन सक्छ, जसबाट विद्रोहीहरुलाई क्रुर ढंगले दमन गर्न सक्छ । उदाहरणका लागि सन् १८७१ मा फ्रान्सको पेरिस समाजवादी क्रान्ति र सो पछि भएको प्रतिक्रान्ति एवं अठारौं शताब्दीमा वेलायतमा भएको ओलिभर क्रमवेलको सफल क्रान्ति र त्यस्को प्रतिक्रान्तिमा क्रमवेलको निर्मम रुपमा हत्या भएका उदाहरण जस्ता प्रतिविद्रोहको खतरा जगजाहेर छन ।
क) होनाहार युवाहरुको नरसंहार गर्नेलाई कार्वाही अगाडी बढाउने
विद्रोहका क्रममा हत्यारा एमाले र कांग्रेसी सरकारले होनाहार चार दर्जन भन्दा बढी कलिला युवाहरुको बर्बर ढंगले टाउको, छातीमा ताकी ताकी गोली हानी हत्या गरेको दमनका सम्बन्धमा पोष्टमार्टममा संलग्न चिकित्सकहरुको भनाईबाट पनि पुष्टि भएकाछन् । त्यसरी हत्यामा संलग्न सबै तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री लगायत अन्य जिम्मेवारी सुरक्षाकर्मीहरु एवं नेताहरु तथा पदाधिकारीहरुलाई कानून बमोजिम कार्वाही गर्न यथाशक्य चांडै थालनी गर्नु पर्छ । यस सम्बन्धमा वर्तमान अन्तरिम सरकारले ४५ दिनको समय भित्र प्रतिवेदन आउने गरी एक छानविन आयोग गठन गर्ने समेत निर्णय भैसकेकोछ । विद्रोहका क्रममा क्षति भएका भौतिक संरचनाहरुको पुनःर्निर्माण कार्यका लागि सबै नागरिकहरुसंग साथमा लिई यथाशक्य चांडै सम्पन्न गर्ने कार्य योजनासंगै कार्य थालनी गर्नु पर्ने हुन्छ । अस्वाभाविक रुपमा जेन-जीहरुको नाममा जेनजीहरुको आन्दोलनलाई वदनाम गर्ने योजनाले शंकास्पद घुसपैठायाहरुले विभिन्न भौतिक संरचनाहरु एवं दस्तावेजहरुमा समेत क्षति पुराएको सम्बन्धमा बिशेष छानविन गरी दोषी देखिएका सबैलाई कानून बमोजिम कार्वाही गर्नु नै पर्दछ । विद्रोहमा शहीद भएका होनाहार युवाहरुको शहादतलाई नजरअन्दाज गरी भौतिक संरचनाहरुको आगजनी, तोडफोड जेनजीहरुले नै गरेका हुन् भनि आफुले गरेका दर्जनौं होनाहार युवाहरुको हत्या कृत्य डाईभर्ट गरी उल्टै हत्यारा सरकार र तिनका लठैतहरुले विद्रोहीहरुलाई नै अपराधिकरण गर्न खाज्दैछ यसमा जेनजीहरु गम्भीर भई त्यस्को प्रतिवाद गर्ने पर्छ ।
ख) संवैधानिक नियुक्ति फिर्ता गर्ने
ओली, कांग्रेस सरकारले टिका लगाएर विभिन्न संबैधानिक निकायहरु तथा विभिन्न विदेशमा राजदूतहरु समेत नियुक्ति गरेकालाई तत्काल फिर्ता गरी त्यसका ठाउंमा ईमान्दार, स्वच्छ, दलमा आवद्ध नभएका योग्य व्यक्तिलाई पदस्थापना गर्नु पर्छ ।
ग) भ्रष्टाचारीहरुलाई कार्वाही गर्न उच्चस्तरी छानबिन आयोग गठन गर्ने
२००७ सालको प्रजातन्त्र पश्चात राज्यसत्तामा बसी हालीमुहाली गरेका भ्रष्ट नेताहरु, तिनका चम्चाहरु, भ्रष्ट कर्मचारीहरु तथा विचौलियाहरुको अकूत सम्पत्ति उपर छानबिन गरी स्रोत नखुलेका सबै सम्पत्तिहरु जफत गरी भ्रष्टहरुलाई कानून बमोजिम कार्वाही गर्न उच्चस्तरी एवं सर्वाधिकार आयोग गठन गरी छानविन प्रारम्भ गरी छानबिनबाट आएका भ्रष्टहरुको नामावलीहरु र तिनका स्रोत नखुलेका अकुत सम्पत्तिहरु तत्काल सार्वजनिक गर्नु पर्ने हुन्छ । विगतका आयोगहरुले पनि छानविन गर्ने तर प्रतिवेदन सार्वजनिक नगरी लुकाई राख्ने परम्परालाई लाई तोड्नै पर्छ र नागरिकहरुले सूचनाको हक पाउने अधिकारलाई सुनिश्तितता गर्ने पर्ने हुन्छ । छानविन आयोग गठन गर्ने सम्बन्धमा अन्तरिम सरकारका प्रधानमन्त्रीले एक विदेशी न्यूज च्यानलमा अन्तर्वार्ताका क्रममा व्यक्त गरेकाछन् । यो एक सकारात्मक पहल मान्नै पर्ने हुन्छ ।
घ) कर्मचारीतन्त्रलाई निमिट्यान्न पार्ने
यो एउटा जटिल कार्य हुनेछ, देशमा सुशासन कायम गर्न महत्वपूर्ण र सेवाग्राहीहरुलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने महत्वपूर्ण भूमिका, जिम्मेवारी बोकेका राज्यका तीनै अंगहरुमा कार्य गर्ने कर्मचारीहरु नै हुन्, तर विडम्बना यीनै कर्मचारीहरुले नै आ आफ्ना नेताहरु, पार्टीहरुको बाजा बजाई, तिनका छत्रछायांमा रहि मनपरितन्त्र चलाईरहेका छन् । सरकारका कुनै पनि सरकारीका कार्यालयमा सेवाग्राहीहरु गई सेवा प्राप्त गर्ने क्रममा घुस दिनै पर्ने वाध्य पार्ने लगायत कार्यालय, विभागले कुनै पनि ठेक्कापट्टा, टेण्डर जस्ता कार्यमा कमिशन, घुस दिनै पर्ने वाध्य पार्ने एवं जन प्रतिनिधिहरु, मन्त्रीहरुलाई समेत आफ्नो प्रभाव पारी मालदार निकायमा सरुवा हुने जस्ता स्वार्थ सिद्ध गर्ने कार्य लगायत ऐनमा भएको ब्यबस्था विपरित आफ्नो अनूकूल कार्यविधि, निर्देशिका बनाई कार्य संचालन गर्ने कर्मचारीतन्त्रलाई समूल रुपमा नष्ट गर्नु पर्ने नै हुन्छ, यसका लागि अन्तरिम सरकारमा रहेका सबै मन्त्रीहरुले आ आफ्ना मातहतका विभाग, कार्यालय लगायत अन्य निकायहरुमा कार्यरत भ्रष्ट कर्मचारीहरुलाई छानविनको दायरामा ल्याई दोषी पाईएकालाई तत्काल निलम्बन गरी कानूनी कार्वाही अगाडी बढाउने कार्य तदारुकताका साथ तत्कालै अगाडी बढाउनु पर्ने हुन्छ । यसरी कार्वाही अगाडी बढाउंने क्रममा कर्मचारी संघ, संगठनहरुले अनेक दुख दिने, दवाव सिर्जना गराउने, हडताल गर्ने जस्ता हर्कत गर्न सक्छ, यसरी गर्न खोजेमा त्यस्ता समस्या समाधान गर्न वैकल्पिक स्वच्छ ईमान्दार कर्मचारीहरु तयारी गर्नु पर्ने हुन्छ, ताकी सेवाग्राहीहरुले सहज रुपमा सेवा प्राप्त गरोस् । यसर्थ तत्कालै संभव भएमा त्यस्ता दलीयतन्त्रको छायांमा रहेका संघ, संगठनहरुलाई निलम्बन गर्ने वा खारेज गर्न सक्ने भएमा खारेजी गरी दिनु पर्छ ।
ङ) विचौलियाहरुलाई समूल रुपमा नष्ट गर्ने
यो पनि एउटा जटिल र चुनौतीको रुपमा रहेको तप्का, तन्त्र हुन जस्ले विभिन्न सार्वजनिक निकायहरुमा आसिन स्थानीय नेताहरु देखि उपल्लो नेताहरु सम्म र वडा कार्यालय देखि संवैधानिक निकाय, मन्त्रालय एवं न्यायिक क्षेत्र सम्मका उच्चपदस्थ कर्मचारीहरु, पदाधिकारीहरुलाई समेत आफ्नो मुठ्ठीमा पारी आफ्नो अनूकूल स्वार्थ पूर्ती गर्न, गराउन आर्थिक चलखेल एवं विदेशीको दलाल, एजेन्सी देखि अन्य जुनसुकै हर्कत गर्न पनि पछाडी नपर्ने तप्का विचौलियाहरु हुन् । यीनीहरु यति शक्तिशाली छन् की आफ्नो स्वार्थ पुर्ति नगर्ने मन्त्री देखि सचिव सम्मलाई हटाउने, राजिनामा दिन समेत वाध्य पार्ने जस्ता हर्कत गरिरहेको जगजाहेर छन्, तसर्थ यो अन्तरिम सरकारले प्राथमिकताका आधारमा यी विचौलियाहरुका वहकावै, लालचमा नअल्झि समग्र विचौलियाहरु, माफियाहरुलाई निमट्यान्न, सफाया पार्न ठोस अभियान थालनी गर्ने पर्ने हुन्छ ।
च) निर्वाचनमा बहुमत ल्याउन ग्रामीण ईलाका गई सगठन मजबूत गर्ने
आगामी फागुन २१ गते संसदको आम निर्वाचनको घोषणा गरेको हुंदा उक्त संसदको घोषित मितिमा नै चुनाव गराउन र जेनजीहरु र जेनजीहरुको भावना कदर गर्ने व्यक्ति, दलहरुको बहुमत ल्याउनका लागि असल, ईमान्दार, देशभक्त सांसद उम्मेदवारहरुलाई जिताउन जेनजीहरुले प्रमुख भूमिका खेल्नु पर्ने हुन्छ । कथंकदाचित घोषित मितिमा चुनाव नभएमा वा चुनाव भई यथास्थितिबादीहरुका तप्काले नै बहुमत ल्याई सत्तामा पुनः फर्केमा जेनजीहरुले गरेको विद्रोह प्रतिविद्रोहमा परिणत गर्न सक्ने भएकोले त्यस्तो परिस्थिति भएमा प्रतिविद्रोहीहरुले क्रुर ढंगले जेनजीहरुको नरसरहार गरी अस्तित्व नै समाप्त गर्न सक्ने संभावना बढी हुन्छ । तसर्थ यस्तो परिस्थिति आउन नदिन अहिले देखि नै योजनावद्ध ढंगले देशको भविष्यलाई सकारात्मक दिशामा डोर्याउन देशका शहर एवं ग्रामीण क्षेत्रका जनताहरुलाई सुसूचित, गोलवन्द एवं संगठीत गराई जेनजीहरुको भ्रष्टाचार विरोधी एवं सुशासनको अभियानलाई सफल पार्न र देशमा भ्रष्टाचारमुक्त देश कायम गरी स्वदेशमा नै रोजगारका आधारहरु निर्माण गरी अर्थतन्त्रलाई बलियो बनाई नागरिकहरुलाई आर्थिक रुपमा सबल पार्ने तथा सुशासनको लक्ष्य, उद्देश्य लिएका व्यक्ति एवं दलहरुको संसदमा बहुमत पुप्खाउनु पर्ने नै हुन्छ । जसबाट राजनैतिक एवं सामाजिक अवस्था सहि दिशामा गई दल भित्र, समाजमा समेत नैतिकताको आधारमा सहज रुपमा पक्कै अघि बढ्छ । जेनजीहरुको विद्रोहको आवजलाई सम्बोधन क्रमशः कार्यान्वयन थालनी भएमा देशका जनताहरुले पनि अवस्था परिवर्तन भएको अनुभूति प्राप्त गर्छ, साथै देशमा दशकौं देखि भैरहेको विदेशीहरुको चलखेल, दवदवालाई समेत रोकी देशमा अमन चयन कायम भई देशको समग्र क्षेत्रमा विकासको गति लिई समृद्धि नेपाल, स्वाभिमान, स्वाधिन राष्ट अवश्य बन्नेछ र जेनजीहरुले गरेको विद्रोह पूर्ण रुपमा सफल भई शहीदहरुको सपना समेत साकार हुनेछन् । अन्यथा यो विद्रोहको प्रतिविद्रोह हुने संभावना प्रवल छ । तसर्थ सबै ईमान्दार, देशभक्त देशलाई माया गर्ने समग्र नागरिकहरु लगायत बिशेषत देशका भविष्यका कर्णाधार, देश सम्हाल्ने विद्रोही जेनजीहरु नै भएकोले सचेत एवं एकजुट भई शहीदहरुको सपना साकार गर्ने पर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया