२०८२ भाद्र १० | Aug 26, 2025

झाडापखला र हैजाका बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन मन्त्री पौडेलको निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ९


ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिएपछि निरीक्षण गर्न गएका मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताए । “नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ”, उनले भने,“विश्व स्वास्थ्य सङ्गठनको पोर्टोकलले भ्याउने खालको औषधिले पुग्ने भए ठीकै छ । नत्र भने परिस्थितिवस थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देश गर्दछु ।’’

मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग त्यहाँको सेवा र गुनासाबारे जानकारी लिएका थिए । ‘‘बिरामीसँग कुरा गर्दा केही औषधि किन्नुपरेको गुनासो सुन्नुप¥यो । त्यसैले अबदेखि कुनै औषधि किन्न नपर्ने खालको व्यवस्था मिलाउनुहोला”, उनले भने , “झाडापखला र हैजाको परीक्षण गर्दा कुनै प्रकारको शुल्क नलिनको मेरो आग्रह छ ।”

मन्त्री पौडेलले तीनै तहका सरकारसँग समन्वय गरेर कुनै पनि हालतमा औषधिको कमी हुन नदिने बताए । ‘‘कुनै पनि हालतमा औषधिको अभाव हुने छैन । जनशक्तिको अभाव हुने छैन । अहिले नारायणी अस्पतालमा बारा र रौतहटका प्रादेशिक अस्पतालबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोली आइरहेको छ । त्यसैगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने कुरा भइरहेको छ ।’’

मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा सङ्घीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले वीरगञ्जका निजी अस्पताललाई झाडापखला र हैजाका बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि आग्रह गरे ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले नारायणी अस्पताललाई प्रदेश सरकारले विभिन्न थरिका औषधि उपलब्ध गराउँदै आइरहेको जानकारी दिए । उनले समस्या परेका बेला मात्र तात्ने नभइ जुनसुकै बेला समस्या आउनसक्छ भन्ने सोचेर दीर्घकालीन योजनासहित काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।


वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा झाडापखला र हैजाको समस्या देखिएकाले समस्या समाधान गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरण गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले निश्चित मापदण्डको ‘चेकलिस्ट’सहित हैजाको मुख्य कारण पत्ता लगाउने कार्य भइरहेको बताए । पाँच वटा कलष्टरमा आधारित भएर आवश्यक काम भइरहेको उनले जानकारी दिएका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट चुमनलाल दासले अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिए । तीमध्ये दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement