झुलाघाट नाका मंगलबारदेखि बन्द गरिने

बैतडी १, वैशाख २०८१।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो मंगलबारदेखि बन्द गरिने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा निर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द गरिने प्रजिअ शर्माले बताए ।

सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गर्न लागिएको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमानुसार नै सीमा बन्द गर्ने चलन छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया