तनहुँको घिरिङमा डेढ करोड लगानीमा व्यावसायिक अगुंरखेती
दमौली २४ जेठ २०८१।
जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अगुंरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अगुंरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अगुंर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, ‘पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।’ अगुंरखेतीका लागि एक करोड ५० लाख रुपैयाँ लगानी भएको छ । यहाँ उत्पादित अगुंर धादिङमा पठाउने गरिएको छ ।
धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अगुंरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए । कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अगुंरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो ।
कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’ फार्ममा ३२ प्रजातिका अगुंरखेती गरिए पनि आठदेखि १० प्रजातिका अगुंरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिए । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया