२०८२ भाद्र ६ | Aug 22, 2025

तराईमा आज जुडशीतल मनाइँदै, मधेश प्रदेशले दियो सार्वजनिक बिदा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २

जनकपुरधाम । आज तराई क्षेत्रमा हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । तराईमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले विशेष महत्वका साथ यस पर्व मनाउँदै छन् । जुडशीतलको अवसरमा मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा समेत दिइएको छ ।

यो पर्व मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन मनाइन्छ।ृ२े यो पर्वलाई शीतलताको प्रतीक मानिन्छ।ृ३ेयस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन्।

वैशाख सङ्क्रान्तिका दिन सुरु हुने यस पर्व विधिमा पहिलो दिन चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन (वैशाख २ गते) बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउने गरिन्छ ।

परम्परा अनुसार आजका दिन रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल समेत गरिन्छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस लोक पर्वको मूल उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

विशेष गरेर यो पर्व मिथिलाबासीहरुले थप महत्वका साथ मनाउने गर्दछन् । आजको दिन मिथिलाञ्चलको केही स्थानमा हिलोपानी खेल्ने चलन पनि गरिन्छ । आज विशेष गरी शरीरमा शितलता प्रदान गर्ने खालका खानेकुरा र मिष्ठान्न परिकार बनाएर खाने चलन छ । जुडशीतलमा विशेष सोइजनको तरकारी, तरुवा लागत विशेष परिकार बनाएर खाने गरिन्छ ।

यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिनुभएको छ ।

सन्देशमा भनिएको छ, “जलवायु परिर्वतन, ग्रिनहाउस ग्यासको प्रभाव, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता पर्यावरणीय मुद्दा चुनौती बनिरहेका बेला अत्यन्त सुक्ष्म तथा व्यावहारिक तवरले सबै खालका पर्यावरण तथा तिनका संरचना संरक्षणप्रति जुडशीतल सिरुवा पर्वले दायित्ववोध गराउँदै आएको छ । गर्मीको प्रभावबाट जोगिन आहार र व्यवहार दुवैमा परिर्वतन गर्नुपर्ने तथा प्राणी र वनस्पति दुवैमा समान अस्तित्वको स्वीकारोक्तिका साथ प्रकृतिको संरक्षण प्रयासमा सहभागी हुनुपर्नेजस्ता सन्देश प्रवाहित गर्ने यो पर्वका सबै विधिमा पारिस्थितिकीय प्रणाली र जैविक विविधताप्रति सचेतना अपनाउने चेष्टा अन्तर्निहित रहेको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया