२०८२ भाद्र ९ | Aug 25, 2025

तीज महिला मुक्ति र परिवर्तनको पर्वः कुलपति राई

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ९

ललितपुर । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीजलाई महिला मुक्ति र परिवर्तनको पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभाग तथा प्रतिष्ठानका क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा आयोजित तीज विशेष कार्यक्रममा कुलपति राईले दिदीबहिनीहरुलाई विभेदको अन्त्यसँग जोडेर तीज मनाउन आग्रह गर्दै तीज महिलाहरूले आफ्ना जीवन भोगाइका व्यथा, कठिनाइ, सुख दुःख र आत्मीय क्षणलाई प्रस्फुटन गर्ने माध्यम भएको बताए। तीज पर्वमार्फत भ्रष्टाचारविरुद्ध चेतना फैलाउन सकिने उनको भनाइ थियो ।

प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले तीज पर्व आफन्त र साथीभाइसँग भेटघाट तथा रमाइलो पर्वका रूपमा झकिझकाउसँग मनाउने गरिएको छ र असमानता र विकृतिविरुद्ध तीज मनाउनुपर्ने भनाइ थियो ।

कार्यक्रमको औैचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य र साहित्य इतिहास विभागका प्रमुख डा मधुसूदन गिरीले तीज महिलाको मात्रै नभएर समुदायको सम्झौताको सांस्कृतिक पर्व समेत भएको बताए।

“किरात र शैवबीच सम्झौता भएपछि तीज मान्न थालिएको थियोे । सामाजिक सद्भाव र मेलमिलाप कायम राख्दै पितृसत्ताविरुद्द महिला समानता र विभेदविरुद्ध तीज मनाउनुपर्छ,” उनले भने ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य पद्य–काव्य विभाग प्रमुख बाबा बस्नेतले तीज पर्वलाई वैचारिकीसँग जोडेर मनाउनुपर्नेमा जोड दिए। प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभागका प्रमुख डा कौशिला रिसालले तीजसँग जोडिएको धार्मिक अन्धविश्वास, अराजकता र विकृतिलाई हटाउनुपर्ने बताए।

साहित्यकार सीता शर्माले ‘तीज गीत र पर्व’ विषयक प्रस्तुति दिँदै ऋषिपञ्चमीको व्रतले महिलाको स्वतन्त्रता र स्वाभिमानमाथि आँच पुर्याएको तर्क गरे। डा प्रतिभा पुनले विज्ञान र प्रविधिले संस्कृतिमाथि धावा बोलेकाले पर्वहरुले मौलिकता गुमाउँदै गएको उल्लेख गरे। डा. चूडाप्रसाद ढकालले तीज पर्वलाई प्रकृतिसँग पनि तुलना गर्नुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement