२०८२ भाद्र ६ | Aug 22, 2025

तीन दिनसम्म चल्ने सगरमाथा संवादलाई प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन, भारतबाट १५ विद्युतीय गाडी सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८

ललितपुर । नेपालले जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको तयारी तीव्र रुपमा अगाडि बढाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न सम्बन्धित मातहतका निकायलाई निर्देशन दिइसकेको छ । मन्त्रालयले आफू मातहतका १६ वटा निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारका लागि लेटर हेडको दायाँ भागमा सगरमाथा संवादको लोगो अनिवार्य प्रयोग गर्न भनेको छ भने वेबसाइट लिङ्क गर्न समेत निर्देशन दिएको छ ।

यसैगरी नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारले १५ वटा विद्युतीय गाडीहरु उपलब्ध गराएको छ । ती उपलब्ध गराइएका गाडीहरू आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष समारोहमार्फत ती गाडीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा। आरजु राणा देउवालाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भने “जलवायु परिवर्तनको साझा चुनौतीको सामना गर्न भारत सधैँ नेपालसँग सहकार्य गर्न तयार छ ।”

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सगरमाथा संवादको सचिवालयले सबै निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारकमा लागि सबै सकारी निकायबाट हुने प्रचारमा लेटर हेडको दायाँ भागमा सचिवालयबाट उपलब्ध गराइएको सगरमाथा संवादको लोगो अनिवार्य प्रयोग गर्न तीनै तहका सरकारहरूमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी गत माघ २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा तयारी बैठक सम्पन्न भएको थियो । उक्त बैठकले संवाद कार्यक्रममा लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गर्नेलगायत विषयमा छलफल गरेको थियो । गत माघ ८ गते अन्तरराष्ट्रिय हिमनदी वर्ष, २०२५ को अवसर पारेर प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए ।

नेपालले क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड द फ्युचर अफ ह्युमनिटी विषयमा सगरमाथा संवाद गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया