२०८२ आश्विन १६ | Oct 02, 2025

थारु समुदायमा आज अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेश सरकारले दियो सार्वजनिक बिदा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८
|
357 views

दाङ । थारु समुदायमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको लागि व्रत बसेर आज अटवारी पर्व मनाउँदै छन् । विशेष गरी पश्चिम तराईका थारू समुदायका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा लिइने अटवारी विशेषगरी पुरुषहरूले निराहार व्रत बसेर आफ्ना दिदीबहिनीको दिर्घायुका कामना गर्दै मनाउने महत्त्वपूर्ण पर्व हो । तर कुनै कुनै महिलाहरू भने स्वेच्छाले व्रत बस्ने गर्छन् ।

घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ९अग्रासन० दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गरिन्छ । यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यस पर्वमा विशेष गरी आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद्हरु बताउँछन् ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया