ललितपुर – दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गरेको मार्सल ल कार्यान्वयनमा सहयोग गरेको आरोपमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ।
सोही सियोल अदालतका फरक न्यायाधीशले फैसला सुनाएका हुन् । यो निर्णय राष्ट्रपति युनविरुद्ध दायर विद्रोहसम्बन्धी मुद्दाको निर्णय आउनुभन्दा एक साताअघि सार्वजनिक भएको हो। युनमाथि अभियोजनकर्ताहरूले मृत्युदण्डको माग गरिरहेका छन् ।
अदालतले ठहर गरेको छ कि लीले गृह मन्त्रालयको नेतृत्व सम्हाल्दै मार्सल ल कार्यान्वयनमा सहयोग गरेका, साथै सञ्चारमाध्यमहरूलाई पानी र बिजुली आपूर्ति काट्न प्रहरी र अग्नि नियन्त्रकलाई निर्देशन दिएका थिए । तर राष्ट्रिय सभाका सांसदहरूले सर्वसम्मत रूपमा मार्सल ल हटाएपछि ती निर्देशनहरू कार्यान्वयनमा जान सकेनन् ।
लीले भने कुनै निर्देशन जारी नगरेको वा प्राप्त नगरेको दाबी गर्नुभएको थियो । उहाँले पूर्वअधिकारीहरूको गवाही अस्वीकार गर्नुभएको थियो। तर न्यायाधीश रयु क्युङ–जिनले उपलब्ध प्रमाण र सुरक्षा क्यामेरा दृश्यबाट लीले युनको आदेश पालना गर्ने प्रयास गरेको देखाएको बताए ।
अदालतले पर्याप्त प्रमाण अभावका कारण शक्तिको दुरुपयोगसम्बन्धी आरोपबाट उहाँलाई मुक्त गरेको छ ।
फैसलापछि ली हल्का मुस्कानसहित मौन रहनुभएको थियो । उहाँका कानूनी टोलीले अपिल गर्ने वा नगर्नेबारे प्रतिक्रिया दिएका छैनन्। अभियोजनकर्ताहरूले उहाँका लागि १५ वर्ष जेल सजाय माग गरेका थिए ।
मार्सल ल प्रकरणमा दोषी ठहर हुने ली युनको मन्त्रिमण्डलका दोस्रो सदस्य हुन्। यसअघि पूर्वप्रधानमन्त्री हान डक–सूलाई २३ वर्ष जेल सजाय सुनाइएको थियो ।
पूर्वरूढीवादी नेता युनले मार्सल ल आफ्नो शासनको आवश्यक कदम भन्दै बचाउ गर्नुभएको थियो। पछि उहाँ पदबाट हटाइएका र जुलाईदेखि हिरासतमा विभिन्न आपराधिक मुद्दासँग सामना गरिरहनुभएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया