दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

BusinessPati बिजनेस पाटी
|
२०८० माघ ११
|
561 views

ललितपुर - म्याग्दी, ११ माघ २०८०।

म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ।

    धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो।

    विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका–६ गोचाखोला क्षेत्रमा अहिले उपकरण मात्रै छन् । डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रडलगायतका निर्माण सामग्री सुरुङ अगाडि अलपत्र अवस्थामा छन्।

    आयोजनाको पूरा क्षमतामा निर्माणलाई पुनः अघि बढाउने गरी तयारी भइरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिए।

    उनले यसअघि एउटा मात्रै अडिटबाट सुरुङ खन्न सुरु गरिएकोमा थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भइरहेको जानकारी दिए।

    ‘अब फेरि सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ, यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरी प्रबन्ध मिलाउँदै छौँ, अहिले पनि कर्मचारी आवासगृहतर्फको काम भइरहेको छ,’ आयोजना प्रमुख रेग्मीले भने।

      Laxmi bank
      उनका अनुसार, यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ।

      कूल दुई हजार आठ सय ५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म नौ सय ९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ।

      पाँच वर्ष अगाडि तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्वारा आयोजनाको दुखुबेसीको बालौटेमा निर्माण हुने विद्युत्गृहको शिलान्यास गरिएको थियो ।

      तर यस आयोजनाको सुरुङबाहेक विद्युत्गृह र ड्यामसाइटतर्फ कुनै काम सुरु भएको छैन । आयोजनाको सुरुङ निर्माणमा विष्फोटक पदार्थको अभावले काम रोकिएको बुझिन आएको र पालिकाले आयोजनालाई सफल बनाउन प्रबन्धकसँग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए।

      ‘स्थानीयस्तरमा केही समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ,’ उनले भने।

      आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेका छन् । मालिका –५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ।

      पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने छ भने अन्य लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube