ललितपुर । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज अर्थात् साउन १५ गतेदेखि दोस्रो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात दोस्रो चरणमा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणको आईपीओ १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते हुनेछ।













फेसबुकबाट तपाईको प्रतिक्रिया