२०८२ आश्विन १६ | Oct 02, 2025

दश करोड बढीका भन्सार छलीका सामान बरामद

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८
|
510 views

बनियानी (झापा) झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा रू १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्सलगायत सामान बरामद गरिएको हो । बरामद सामग्री सम्बन्धित निकायमा दाखिला गरिसकिएको उहाँले बताउनुभयो । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत चार स्थानमा खानेपानी व्यवस्थापन, सरसफाइ तथा सरसफाइजन्य सामग्री वितरण, २० युवालाई इलेक्ट्रिसियन तालिम, बुवाआमा गुमाएकी १० वर्षीया बालिका रानी ऋषिदेवलाई नेपाल एपिएफ स्कूल सप्तरीमा कक्षा–१२ सम्म अध्ययन छात्रावृत्ति प्रदान, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गणपति भण्डारीले जानकारी दिनुभयो । यसैबीच सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले आज १८औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यमा गण परिसरमा आज स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा कर्तव्यपालनको सिलसिलामा दिवङ्गत हुनुभएका स्व सोमबहादुर तामाङको परिवारलाई सम्मान गरिएको थियो । उहाँको परिवारलाई रू ५१ हजार नगदसमेत प्रदान गरिएको छ । कार्यक्रममा वैशाख महिनामा उत्कृष्ट हुने मासिक जवानलगायत अन्य क्रियाकलाप तथा खेल विधामा प्रथम हुने कमर्चारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि बाहिनीपति न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो । सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया