दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाण्डौ २० कार्तिक २०८१

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतको न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।

उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको थियो ।उच्चले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले उच्चबाट भएको फैसला सदर गरेको हो ।

उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

हाल फैसला भएको मुद्दा २०६१ को घटनाको हो । गुन्डा नाइके रहेका मनाङेले अर्का गुन्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरेका थिए । उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो ।

उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा नभई कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ज्यान मुद्दा ठहर गरी मनाङेलाई ५ वर्ष जेल सजाय हुने ठहर गरेको थियो । त्यसपछि मनाङे फरार भएका थिए । २०७५ वैशाखमा पक्राउ परेका मनाङे जेल चलान गरिएका थिए । त्यतिबेलासम्म उनी गण्डकी प्रदेश सभाको सदस्यमा निर्वाचित भइसकेका थिए । उनी २०७४ को निर्वाचनमा मनाङ-२ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

उक्त मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन् । अब उनी ३ वर्ष जेल जानुपर्नेछ । उनी २०७९ को निर्वाचनमा पनि मनाङेबाटै गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया