
काठमाडौँ । आज दुई राजनीतिक दलले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका हुन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै यी दुई दलले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका हुन् ।
औपचारिक रुपमा बैठक सुरु भए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका हरि ढकाललाई बोल्न दिएका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाए । दलीयकरण भएका कारण जनताले उठाएका विषयमा छानबिन नगरेको आरो समेत उनले लगाए ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्न माग गरे ।
दुवै दलका सांसदहरुले आ–आफ्ना भनाइहरु राखेपछि संसद् बैठक कक्षबाट बाहिरिए । भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया