देशबाट लिने होइन् देशलाई दिनसक्ने ब्यक्ति चयन गरौं

सुरेन्द्र ढकाल

नयाँ सडक पुग्नु लक्ष्य वा साध्य हो भने त्यहाँसम्म पुग्ने साधन धेरै किसिमका हुन्छन् जस्तो पैदल, साइकल, मोटरसाइकल, वस, कार आदि । त्यसको छनौट समय, परिस्थिति र क्षमताले गर्दछ । कुन प्रयोग गर्दा सुरक्षितपूर्वक सस्तोमा समयमा नै पुग्न सकिन्छ भन्ने कुरा हो । यसलाई जोडेर राजनीतिसँग हेर्दा चाहे निर्दलिय ब्यवस्था होस, चाहे एकदलीय ब्यवस्था वा वहुदलीय ब्यवस्था होस, चाहे निरंकूश राजतन्त्र होस चाहे संवैधानिक राजतन्त्र वा गणतन्त्र होस यी सबै साधनमात्र हुन । साध्य भनेको जनताको उकासिदै गएको समृध्दि, गरिवी र निरक्षरताको अन्त्य, भ्रष्टाचार र राष्ट्रघातको सफाया, सफा पर्यावरण, अनि समाजमा धनि र गरिव वीचको क्रमस कम हुदै गएको दुरी हो। हामीले नेपालमा २००७ साल देखि ६३ साल सम्म आउदा धेरैपटक आन्दोलन गरी साधनहरू परिवर्तन गर्यौ, यो ब्यवस्था राम्रो होला कि त्यो ब्यवस्था राम्रो होला भनेर अनि त्यसले साध्यमा पुर्याउला भनेर ।
तर सक्षमता, पारदर्शिता, मितब्ययिता र सादगी जस्ता गुणहरूलाई राजनीति र प्रशासनमा स्थापित गर्न नसक्दा राणा भन्दा पंच खराव, पंच भन्दा कांग्रेस खराव, कांग्रेस भन्दा एमाले खराव, एमाले भन्दा माओवादी खराव र अन्तमा राजनीति गर्ने झुण्डहरू सबै खराव प्रमाणित भएको अवस्था छ अहिले। राजालाई सामन्त भनेर निकाल्ने अनि त्यही सामन्ती सोच सबै दलका नेतामा हुने कारण पद कहिले छाडन नचाहने प्रवृत्तिले गर्दा न यहा कुनै दलमा आन्तरिक प्रजातन्त्र वा जनवाद (Intra Party Democracy) छ न दलहरूको वीचको प्रजातन्त्र वा जनवाद  (Inter Party Democracy) नै छ । आफु र आफना मान्छे मात्रै सक्षम देख्ने प्रवृत्ति, आफु र आफनाले भनेका कुरा मात्रै ठीक भन्ने प्रवृत्तिको कारण सबैले एक पछि अर्को गर्दै आफैलाई पत्रु सावित गरेको अवस्थामा कहाबाट हुन्छ राष्ट्रिय प्रजातन्त्र (National Democracy) को सुद्यृढिकरण ? कहाबाट हुन्छ विकाश ? अनि कहाबाट आउछ समृध्दि ? साधन परिवर्तन गर्ने वित्तिकै साध्य सजिलै प्राप्त होला भन्ने सजिलो सोच भडकाउन सबै लागे। जनताले पनि त्यसैमा विश्वाश गर्यो। तर ७ दशकको लामो संघर्ष पछि पनि माछो माछो भ्यागुतै सावित हुन पुग्यो। स्थायी सरकार भनिने प्रशासनलाइ मात्रै राजनीतिबाट स्वतन्त्र राखी पेशागत तवरबाट दक्ष वनाउन आवश्यक पाइला चालिएको हुन्थ्यो भने प्रशासन इमान्दार र सक्षम हुन्थ्यो त्यसले राजनीतिक दलहरूलाई समेत सक्षम वन्ने अवशर प्रदान गथ्र्यो । तर आफुले भने वमोजिम नभएपछि एकवर्षमा चारपटक मंत्रालयका सचिवहरू, विभागका महानिर्देशकहरू, जिल्ला प्रशासकहरू परिवर्तन गर्ने प्रवृत्तिले प्रशासनलाई राजनीतिको नोकर वनाउदा सबै ब्यवस्थाहरू साध्यमा पुग्न असफल भए । हुदा हुदा संविधानमानै ब्यवस्था नभएको अधिकार प्रयोग गरी संसदै विघटन गर्ने, अनि त्यसमानै संबैधानिक भनिने अदालत र आयोगहरू रुमल्ली रहने जुन प्रवृत्ति देखा परेको छ त्यसले राजनीतिक दल त्यसका नेताहरूलाई असक्षम अनि असफल त बनायो नै कतै यसले अव सिंगै राष्ट्रलाई नै पो असफल वनाउने हो की भन्ने चिन्ता यस राष्ट्रलाइ माया गर्ने, आफुलाइ नेपाली भन्न पाउदा गर्व गर्नेहरूलाई परेको छ । जस्तो सुकै राम्रो साधन हुदैमा साध्यमा सजिलै पुगिदो रहेनछ भन्ने कुरा प्रमाणित भइसकेको परिप्रेक्ष्यमा अव इमान्दारी, सक्षम, मितब्ययि र सादगी संगठन र नेताहरू नेपाली जनता र मतदाताले खोज्ने बेला आएको छ । निर्वाचनको अगाडिको दिन जस्ले पैशा र मासु भात बाँढे ती ठीक भन्दा हिजो राणा सकिए, शाह र पंच सकिए कांग्रेस, एमाले अनि माओवादी सकिदा अव देश सक्किने पालो आएको छ । तसर्थ साधनमा होइन साध्यमा जोड दिने प्रवृत्तिको विकाश गरौं । देशबाट लिने होइन देशलाई दिन सक्ने ब्यक्ति चयन गरौं, सहि काम गरी कमाएको दामबाट नाम र यश बनाउने उत्कृष्ट समाज सेवाको रुपमा राजनीतिलाई स्थापित गरौ अनिमात्रै समृध्दि स्वतन्त्रता र अखण्डता संभव छ नत्र साधन परिवर्तन बाट हुनेवाला केहि छैन भन्ने कुरा अहिलेको देशको अवस्थाले प्रष्टै पारिसक्यो। अव देश असफल हुन मात्र बाँकी छ ।
(लेखक ढकाल वरिष्ठ समाजसेवी तथा बुद्धिजिवी हुनुहुन्छ )
प्रकासित मिति २०७७–११–०८

फेसबुकबाट तपाईको प्रतिक्रिया