ललितपुर। मंसिर सकिनै लाग्दा काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घटिरेको छ । तापक्रम घट्दा उपत्यकामा चिसो क्रमिक रुपमा चिसा बढिरहेको छ ।
यसो त काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (बिहीबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो । यस वर्षको मापनमा यो कम तापक्रम हो । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बुधबार भने ५.५ र मंगलबार ६.२ डिग्री मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको देशका प्रमुख १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.४ डिग्री छ । बुधबार भने जुम्लाको न्यूनतम तापक्रम ४.१ र मंगलबार ४.६ डिग्री मापन गरिएको थियो ।
यसैगरी विहीबार डडेलधुराको न्यूनतम तापक्रम ४.७, ताप्लेजुङको ५.७, दिपायलको ६.३, ओखलढुंगाको ७.८, वीरेन्द्रनगरको ८.१, पोखराको ८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
सन् १९७८ जनवरी ११ मा भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया