२०८२ फाल्गुन ६ | Feb 18, 2026

धरहराबाट मात्र चार करोड ३३ लाख राजस्व संकलन, अब विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६
|
459 views

ललितपुर । २०७२ को भूकम्पले पूर्ण रुपमा ध्वस्त भएको धरहरा पुनर्निर्माणपछि सर्वसाधारणका लागि खुला गरिएको धरहराबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ ।
पुनर्निर्माण कार्य सम्पन्न भएपछि धरहरा गत मंसिर ९ गतेबाट सर्वसाधारणका लागि सशुल्क रूपमा खुला गरिएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का अनुसार हालसम्म धरहराबाट चार करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ। यो राजस्व प्रतिदिनको टिकट बिक्रीबाट सोझै सरकारको खातामा जम्मा हुने रकम हो ।

जेठ मसान्तसम्मको विवरणअनुसार धरहरा अवलोकन गर्नेको संख्या दुई लाख ३७ हजार ६५ पुगेको छ। १० वर्षमुनिका बालबालिकाबाट शुल्क नलिने व्यवस्था भएकाले उनीहरूको संख्या भने यसमा समावेश गरिएको छैन।
धरहराको अवलोकन गर्ने स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरुले समेत रुचि देखाएका छन् ।

धरहरा परिसरमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ भने फोटोग्राफी र भिडियो छायाङ्कनका लागि प्रतिघण्टा १ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरिएको छ।
त्यस्तै विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुट दिइएको छ भने १० वर्ष मुनिका बालबालिकाको लागि निःशुल्क गरिएको छ ।

त्यसैगरी सार्क मुलुकका पर्यटकका लागि प्रतिव्यक्ति ५ सय र अन्य मुलुकका नागरिकका लागि रु. १ हजार रुपैयाँको टिकट शुल्क तोकिएको छ।

धरहराको बेसमेन्टमा रहेको पार्किङ सुविधा (दुई पाङ्ग्रे÷चार पाङ्ग्रे) भने हालसम्म निःशुल्क प्रदान गरिँदै आएको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य आकर्षको केन्द्र रहेको यस ऐतिहासिक धरहरा अब सार्वजनिक बिदामा पनि खुला गरिने भएको छ। सहरी विकास मन्त्रालयले आगामी साउन १ गतेदेखि धरहरा दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरिरहेको छ भने समयावधि पनि लम्ब्याएको छ । यसअघि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुल्ने गरेको धरहरा अब बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला हुने भएको छ ।

त्यसैगरी श्रावण १ गतेबाट सार्वजनिक बिदाको दिन समेत बन्द नहुने भएको छ । तर साताको एक दिन बुधबार भने बन्द रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया