
म्याग्दी चालु वसन्तयाममा जिल्लाको धवलागिरि गाउँपालिका-४ स्थित धवलागिरि हिमाल आरोहण गर्ने टोली आधार शिविर पुगेको छ । टोलीका प्रमुख लाक्पा शेर्पाले धवलागिरि हिमालको तेस्रो आधार शिविरमा पुगेसँगै आरोहणका लागि मार्ग बनाउने र रोप फिक्सिङ (डोरी टाग्ने) काम भइरहेको जानकारी दिनुभयो । “मसहित छ जना शेर्पाको टोली बाटो बनाउँदै समुन्द्री सतहबाट सात हजार १०० मिटर उचाइमा रहेको तेस्रो आधार शिविर पुगेका छौँ”, उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा एक-दुई दिनमा बाटो बनाएर आरोहीलाई चुचुरोमा पुर्याउँछौँ ।” सेभेन समिट ट्रेक र १४ प्रिक्स एक्सीडिसनमार्फत पर्वतारोहीले धवलागिरि चढ्न लागेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहण गर्न दुई समूहका छ महिला र नौ जना पुरुषले अनुमति लिएका छन् ।
गत शरदयाममा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । लाक्पाको नेतृत्वमा तारामान तामाङ, प्रेम दोर्जे शेर्पा, पूर्वकुसाङ गुरुङ, पासाङ नर्वु शेर्पा र पेम्बा चुम्बी शेर्पाको टोली धवलागिरिको तेस्रो आधार शिविर पुगेको छ । छिनछिनमा परिवर्तन हुने मौसम आरोहणका लागि चुनौती बनेको शेर्पाले बताउनुभयो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया