
ललितपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूले बिहीबार शपथ ग्रहण गर्ने भएका छन् । बुधबार सपथ ग्रहण गर्ने कार्यक्रम रहे पनि सत्ता साझेदार दल एमालेको अब्जेक्सन पछि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण विहीबारलाई सारिएको हो ।
कांग्रेसभित्र आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रिक्त रहेका ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरी आज बिहान ९ बजेका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । उनको सिफारिस अनुसार चितवनकी माया श्रेष्ठ, गीता गुरुङ रहेका थिए भने धादिङका गोविन्द लम्साललाई पनि मन्त्री बनाएका थिए । जसअनुसार लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।
मुख्यमन्त्री लामाले नवनियुक्त मन्त्रीहरूको शपथ सञ्चालन गर्न दवाव दिए पनि एमालेले विवाद थप बढ्ने भन्दै सो कार्यमा सहमति नजनाउँदा शपथ ग्रहण कार्यक्रम रोकिएको हो । त्यसपछि भोलि (बिहीबार) दिउँसो १ बजेका लागि मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया