ललितपुर । राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार सम्पन्न खेलमा रुकुम पश्चिमले एपिएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
तीन जना पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले खेलको पहिलो सेट २२–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पाररेको थियो । रुकुम पश्चिमले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२० अङ्कले जित्दै सेमिफाइनलको स्थान पक्का गरेको हो ।
यसअघि नेपाल पुलिस क्लब पनि प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ। पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० सेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पुलिसले उक्त खेल २५–१९, २५–१७ र २५–१८ अङ्कले जितेको थियो।














फेसबुकबाट तपाईको प्रतिक्रिया