२०८२ आश्विन १६ | Oct 02, 2025

नागढुंगा–नौबिसे सडक १५ दिनसम्म दिउँसो चार घण्टा बन्द हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
612 views

ललितपुर। राजधानी काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड अबदेखि दिनको साढे ४ घण्टा बन्द हुने भएको छ । सडक निर्माणको काम भइरहेकोले उक्त सडक ४ घण्टाका लागि बन्द गरिन लागेको हो ।

यसअघि उक्त सडक खण्ड रातिमा सवारीसाधन बन्द गरेर निर्माणको काम भइरहे पनि अब चाहिँ दिउँसोको समयमा बन्द गरेर निर्माण कार्यलाई तीव्र पार्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म १५ दिनका लागि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिएका छन् ।

आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए। “निर्माण आयोजनाले नागढुंगा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो। प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भने।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले एक सूचना जारी गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। बन्दको समयमा धार्के(सितापाइला तथा टोखाछहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया