२०८२ फाल्गुन ६ | Feb 18, 2026

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ७
|
408 views

ललितपुर नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गर्नुभएको हो । यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैरयोगदानमा आधारित उपदान तथा अन्य अवकाश खाता कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब दुई हजार कर्मचारीको उपदान एवं अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ ।

चालु आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोष नागरिक लगानी कोष लगायतका अन्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरे बमोजिम आर्थिक ऐन, २०८२ मा भएको संशोधन अनुरूप बैंकले आफूले सञ्चालन गर्दै आएको अवकाश कोष नागरिक लगानी कोषमा हस्तारण गरेको हो । गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू सम्वत २०८३ साल असार मसान्तभित्र नागरिक लगानी कोषलगायत कोषमा आबद्ध हुनुपर्ने व्यवस्थाको जानकारीसमेत गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया