२०८२ आश्विन १०
1k views

ललितपुर । एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटकपटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ । तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति नै रोकिएका सबै सवारी गन्तव्यतर्फ पठाइएको बताए । निकै मेहनतका साथ काम गरेकाले ठूलो पहिरो भए पनि सोचेभन्दा छिटो काम सकिएको भन्दै उनले हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सबै सडक सञ्चालन रहेको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया