ललितपुर - ललितपुर । नेपाल वायुसेवा निगमलाई भ्रष्टाचारमुक्त र संस्थाको हितमा काम गर्न भनेर दीपकजंग ठाकुरको संयोजकत्वमा १९ सदस्यीय ‘नेवानी जेनजी समूह’ गठन गरिएको छ। समूहले निगमलाई राजनीतिक संक्रमणको बेला सुचारु र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
समूहको सहसंयोजकमा अरविन्द यादव र सदस्य सचिवमा मनिषा अधिकारी चयन भएका छन्। निगमका आन्तरिक तथा बाह्य उडानलाई नियमित गर्दै अन्तर्राष्ट्रिय गन्तव्य थप्ने र निगमलाई प्रतिष्ठित उड्डयन संस्थाका रुपमा विकास गर्ने योजनासहित समूह अघि बढ्ने बिहिवार जारी विज्ञप्तिमा उल्लेख छ ।
समूह गठन सङ्गै वरिष्ठ पदाधिकारीहरुको सहभागितामा ३१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समूहका संयोजक ठाकुरले जारी गरेको प्रेस रिलिजमा हाल निगमले चीनको गोन्जाओ र अष्ट्रेलियाको सिड्नी उडानको तयारीलाई तीव्रता दिइरहेको बेला केही ‘नक्कली र छद्मभेषी’ व्यक्तिहरुले जेनजी अभियानको नाममा भ्रम फैलाउने गतिविधि सुरु गरेकको र निगमको ग्राउण्ड ह्यान्डलिङ खोस्ने प्रयत्न गर्ने ‘हवाई माफिया’को चलखेल रोक्न समूह सक्रिय भएकाले स्वतस्फूर्तरुपमा जेनजी अभियानलाई साथ दिन अघि बढिएको उल्लेख गरेका छन।

बिजनेस पाटी