
ललितपुर । विहीबारदेखि नेपालमा प्रि–मनसुन सक्रिय भएको छ । हिजो बेलुकादेखि देशभरका अधिकांश धेरै ठाउँमा वर्षा सुरू भइसकेको छ । विहीबार कतिपय स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा भएको छ । यो क्रम अबका दुई सातासम्म रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा भित्रिएको प्रि–मनसुनले मनसुन जोड्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन् । जेष्ठ महिनाभर लगभग प्रि–मनसुनकै अवस्था हो । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने प्रक्रिया रहेको छ ।
विगत केही दिनदेखि देशको राजधानी लगायतका देशभरका अधिकांश स्थानमा अत्यधिक गर्मी बढिरहेको छ । प्रि–मनसुन भित्रिएसँगै अबका दिनमा पर्ने पानीले केही कम हुने देखिएको छ । तर पश्चिम तराईका केही स्थानमा भने अझै केही दिन अत्यधिक गर्मे बढ्ने मौसमविदहरुले बताएका छन् ।
आज कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।
यस्तै, विहीबार कतिपय स्थानमा पानीका साथै आएको हावाहुरी जनजीवन कष्टकर बनाएको छ भने आज पनि ठाउँ–ठाउँमा हावाहुरी र असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया