नेपालमा मासु तथा अन्डा खपत न्यून

काठमाडौं, १८ पुस २०८०

‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ ।
दक्षिण एसियाका केही देशले सरदर एक जनाले वार्षिक १८० वटा अन्डा उपभोग गर्छन् तर नेपालमा एक व्यक्ति वार्षिक ६१ वटामा मात्र सीमित रहेका छन् । बङ्गलादेशमा एक जनाले वार्षिक ८० वटा, भारतमा ७९ र पाकिस्तानमा ७२ वटा अन्डा खपत गर्ने गरेका छन् । त्यस्तै अन्य विकसित देशमा त वार्षिक एक जना व्यक्तिले चार सयभन्दा बढी अन्डा खपत गरेको तथ्याङ्कमा देखिएको छ ।
चीनमा ४३३, जापानमा ३९७, अमेरिकामा ३२२ वटा अन्डा खपत गर्ने गरेको छ जसको तुलनामा नेपाल निकै पछाडि रहेको छ ।कुखुराको मासु नेपालमा प्रतिव्यक्ति वार्षिक ७.५७ किलो मात्र खपत हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ जबकि विकसित देशमा वार्षिक सरदर प्रतिव्यक्ति ७४.७ किलोसम्म खपत हुने गरेको छ । इजरायल जस्तो देशमा प्रतिव्यक्ति ६८.९ किलो मासु खपत गर्ने गरेको छ भने अमेरिकामा एक जना व्यक्तिले ५८.७ किलो मासु खपत गर्ने गरेको छ ।
पोल्ट्रीले देशको कुल गार्हस्थ उत्पादनको ३.५ प्रतिशत योगदान दिएको छ । कृषि मन्त्रालयका अनुसार पाँच लाख जनाले यो क्षेत्रमा रोजगारी पाएका छन् भने यो क्षेत्रमा एक खर्ब ६० अर्ब लगानी भएको देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया