२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ११
|
408 views

ललितपुर । नेपाली उद्यमी मञ्च – ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्लाजा, पुलचोकमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो अवसरमा अध्यक्ष विनु श्रेष्ठबाट अप्टिस रविलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेको हो ।

साधारण सभामा मञ्चका सदस्य, साझेदार, शुभेच्छुक तथा उद्यमशीलता क्षेत्रमा सक्रिय प्रमुख व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अघिल्लो कार्यकालका उपलब्धिहरूको समिक्षा गरिएको र नयाँ नेतृत्वलाई स्वागत गरिएको थियो।

गत कार्यकालमा युवामा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासका क्षेत्रमा गरिएको विविध कार्यक्रमको विवरण सभामा प्रस्तुत गरिएको थियो। च्याप्टरले स्थानीयस्तरमा उद्यमशील नेटवर्क विस्तार तथा तालिम, कार्यशाला, परामर्श सेवा जस्ता प्रभावकारी क्रियाकलापहरु सञ्चालन गरेको जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सांसद तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुनिता श्रेष्ठको उपस्थिति थियो। सहभागीहरूले उनको उपस्थितिलाई प्रेरणादायी भन्दै विशेष सराहना गरेका थिए।

पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष विनु श्रेष्ठले कार्यकालभरि साथ दिएको कार्यसमिति र सदस्यहरूप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिए। नव–नियुक्त अध्यक्ष अप्टिस रविले सहकार्य, प्रभावमुखी कार्यक्रम र युवा उद्यमीको सशक्तीकरणमा च्याप्टरलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले उद्यमशीलता र नेतृत्वको क्षेत्रमा युवाहरूलाई उत्प्रेरित गर्दै आएको छ। नयाँ कार्यकारिणीका साथ यो च्याप्टर अझ प्रभावकारी, उत्पादनमुखी र प्रेरणादायी वर्षतर्फ अघि बढ्ने अपेक्षा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया