२०८२ भाद्र ६ | Aug 22, 2025

नेपाली कांग्रेसले सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ७

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ ।

कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । वैशाख १५ गते राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतःबन्द गरिने बैठकले निर्णय गरेकाले यस अवधिलाई अन्तिम मानिएको छ । यस अघि सो कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि गत चैत ३० गतेसम्म तोकिएको थियो ।

क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन भने वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्ने बैठकले निर्णय गरेको छ । सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टी कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोक र सप्तरीमा हालसम्म क्रियाशील सदस्यताको प्रक्रिया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समयअघि मात्रै प्रक्रिया शुरु भएको हुनाले ती जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा इन्ट्री गरिसक्नुपर्ने बैठकको निर्णय छ । मंगलबार विहानसम्म नयाँ र नवीरकण गरी छ लाख १० हजार १३४ क्रियाशील सदस्यता पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । यसमा नयाँ दुई लाख ८९ हजार २२१ र नविकरण तीन लाख २० हजार ९१३ क्रियाशील सदस्यता रहेका छन् । विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने यसमा समावेश छैन् ।

कांग्रेसले १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म सो संख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको छ । कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेबसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । कांग्रेसको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० रहेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया