नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र निष्काशन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८
|
306 views

ललितपुर - ललितपुर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)ले आज (जेठ १८ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

बैंकको उक्त ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द भने छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 पात्रो/राशिफल  रेडियो YouTube