नेपाल कम्युनिष्ट पार्टी के समाजवादकै बाटोमा हिँड्ला ?

कालिदासबहादुर राउत क्षत्री

जेठ ३ गतेका दिन “नेपाल कम्युनिष्ट पार्टी” घोषणा भएको छ । यो नाम नयाँ भएर पुरानो हो । २००६ सालमा संस्थापन पुष्पलालले घोषणा गरेको पार्टी हो । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई प्रतिबन्ध लगाएपछि नेकपा छिन्नभिन्न भएर ५२ वटा सम्म नाममात्रका पार्टीहरु बने । कतिपय पार्टीहरु नून बिलाएझै बिलाए भने कतिपय अस्तित्वमा देखिए । संघर्षको क्रममा पूर्विनेपालमा झापा विद्रोह (नक्सलाईट विद्रोह) २०२८ सालमा चलाएपछि राजाको प्रत्यक्ष शासनकालमै कम्युनिष्ट आन्दोलनले अस्तित्व लिदै गयो । झापा विद्रोहको एक नायक केपी ओली थिए । उनी डेढ दशक जेलमा बन्दि भए । कतिपय मारिए–मरे । त्यसताका कम्युनिष्ट पार्टीमा तीन प्रकारका कार्यकर्ता थिए । एकखाले जनपक्षीयका नाममा तत्कालिन राजनीतिक प्रणालीलाई उपयोग गर्ने नाममा पंचायतमा आबध्द थिए ।
दोश्रोखाले मानवअधिकारकर्मी जस्ता पहिचानमा तत्कालिन सरकारको सहयोगार्थ जासुसी गर्थे । गुप्तचर सन्जालले पार्टी संचालन गर्दथ्यो र त्यसको परिणतिस्वरुप नोक्सान न्युन भयो पार्टीलाई । विभिन्न नामका गुप्तचर संस्थाका पार्टी कार्यकर्ताहरु नै सकेसम्म धेरैजना माथि पुगेको भुक्तभोगीहरुलाई अवगत छ । जो फगत जनताको स्तरबाट पार्टीमा इमान्दारीपूर्वक क्रियाशिल थिए, त्यस्ताहरु प्राय जनस्तरमै बुढा भएर कोही मरी पनि सके । तेश्रो खाले जो जेलमा थिए, तिनीहरु गुप्तचरको सन्जाल भन्दा बाहिरै हुनाले तुलनात्मक रुपमा अरु भन्दा निर्दोष छन्, दृष्टान्तको निम्ति केपी ओलीहरु । जो जुन संस्थाबाट पार्टीमा परिचालित भएर संभव भएसम्मले पद पैसा लिएर स्वनामधन्य भएकाहरु जेठ ३ गते चमत्कारिक रुपमा नेकपा घोषणा भएपछि अतालिएको जस्तो देखिन्छ । एमाले र माओवादी घोलिएर एउटै शक्तिशाली पार्टी घोषणा भएपछि कतिपयलाई बस्नु कि निस्कनु द्धिविधा परेको छ । यो अन्तघुलन कसरी गरियो भन्ने वास्तविकता ओली र दाहाल बाहेक अरुलाई थाहै छैन । यथार्थ के हो भने विभिन्न देशी–विदेशी गुप्तचर सन्जालबाट संचालितहरु पार्टीको विभिन्न भूमिकामा क्रियाशिल हुदै आएकोमा सम्बन्धित संस्थाले त्याहाँबाट अलगिने तथा जस्तो निर्देश गर्छ तदनुरुप तयार हुनुपर्ने हुँदा कतिपयबाट अलग–थलग हुने अथवा वार्गेनिङ राजनीति चल्न सक्छ । यी दुवै कम्युनिष्ट पार्टी विघटन भैसकेको छ र यस्का सबै संगठनहरु, सबै स्तरका कमिटिहरु भङग भैसकेका छन् ।
तीन महिना भित्र सबै संगठनहरु कमिटीहरु पुनगठन गरी सक्ने भनिएको छ । यस्तो अवस्थाका कारण विभिन्न कमिटीहरुमा आवध्द कार्यकर्ताहरु आफू पुनः कमिटिमा परिन्छ कि परिदैन भनेर पिरोलिएर चाकरिमा दौडधुप गरीरहेको दृष्य छ । झलमल्ल उज्यालो हुँदाहुँदै एकासी झयाप्प भएर अन्धकार भयो भने त्यहाँ चलाएमानहुनेहरु यताउति झुक्किन ठोकिन सम्छन्, गन्तव्यपहिल्याउन नसक्तासम्म अन्योलमा पर्न सक्छन् । अहिले कम्युनिष्ट पार्टी भित्रका अधिकांशको मानसिकता विद्रोह गर्ने–क्रान्ति गर्ने हरुका लागि माओवादी जस्तै नेकपा विप्लव सँगको यात्रा उचित हुनसक्छ । यी दुई नेकपा बाहेकका राजनीतिक संस्थाहरु बसिवियालो मात्रै हुन सक्छन् । कुनै पनि सत्ताले दुनियामै एउटा न एउटा विपक्षी आफनै सिपमा उमारेको हुन्छ । एउटा नएउटा दुस्मन नदेखाउदा सम्म मित्र पाइन्न भन्ने पुरानो उक्ति अनुसार सत्ता सन्चालन सहजताका निम्ति संसारका जहाँका सत्तासिनले देखावटी भएपनि जसरी पनि उमार्छन् । एमालेमा माओवादी विलय भएको प्रतिकृया व्यक्ति गरेका छन् डा. बाबुराम भट्टराई लगायतका मोहन बैध, मोहनविक्रम सिंह, नारायणमान विजुक्छे प्रवृत्तहरुले । यता इतिहासकै शक्तिशालि पार्टी “नेकपा”घोषणा सभामा दुवै अध्यक्षले पार्टीमा एमाले र माओवादी खोजेर भेटिन्न भनेका छन् । हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । पानीमा हाइड्रोजन र अक्सिजन छुटिदैन, नेकपा यौगिक बनिसक्यो, हामीले आत्मसात गर्न जरुरी छ । हिन्दमहासागरमा कोसी र गण्डकीको पानी खोजेर पाइदैन । त्यस्तै सागर बनीसकेको पार्टी विघटित पार्टीहरुको पहिचान पाइनेछैन । एउटा मात्रै अध्यक्ष प्रणालीमा अभ्यस्त मानिसहरुमा एउटा दापमा दुईटा खुकुरी अटाउन्न कुनैै एउटाले बाहिरै बस्नैपर्छ भन्ने सोच पनि स्वतः पालेको छन तर आवस्यक भएर र जिम्मेवारी साथ दुई अध्यक्ष प्रणाली स्थापना गरेको बुझिएको छ । एउटा अध्यक्षले राज्यसत्ता संचालन गर्ने र अर्को अध्यक्षले पार्टी सत्ता संचालन गर्ने जिम्मेवारीका साथ द्विअध्यक्षतात्मक प्रणाली व्यवस्थापन गरेका हुन् ।
समाजवादन्मुख कम्युनिष्ट आन्दोलन अघि बढयो, पछाडि फर्कने कुरै छैन । कम्युनिष्ट पार्टीको एक्लै बहुमत छ, एउटै पार्टीको सरकार छ । ६ वटा प्रदेशमा एक्लै सरकार छ । नेतृत्वको कथन छ–२०४६ सालको ऐतिहासिक आन्दोलनको सफलताले एकताको चेतना दियो, अब कम्युनिष्ट बाहेक अरुले शासन गर्ने छैनन् । प्रचण्डले नमानेको भए–ओलीले नमानेको भए एकता हुने थिएन । औचित्य आवश्यकता र अनिवार्यता बुझेर भएको हो । हामी मिश्रण होइन, मिसिएको होइन, घोलिएर एउटै भएकै छौं । राष्ट्रलाई समृध्द, स्वाधिन, स्वावलम्बन, सामाजिक न्यायसहितको समाजवादतिर लैजाने लक्ष्य हो । अस्थिरताको भूमरिको अन्त्य भयो । अराजकताको युग समाप्त भयो । यो नेकपा देश बनाउने संकल्पका निम्ति, भ्रष्टाचार हुन नदिन, भ्रष्टाचार नगर्नहो, कानुनी राज र सुशासन हाम्रो उद्देश्य हो । पार्टीमा भेदभाव, अन्याय, पूर्वाग्रह, कुन पार्टीबाट आएको थियो भन्ने भेदभाव गरिदैन, इतिहास सकृयता र संभावना हेरेर जिम्मेवारी दिन्छौं । नेकपाको मुख्यालय एमालेको रहेको धुमबराहीमा रहेको छ । निर्वाचन चिन्ह एमालेकै “सूर्य” रहेको छ । नेकपा घोषणा गरीरहँदा प्रचण्डको स्वर आवरुद्ध भएको सम्बन्धि आआफ्ना टिप्पणी छन् । नेकपा केन्द्रिय कमिटी ४४१ सदस्यीय रहेको छ । जसमा एमालेबाट २४१ जना र माओवादी २०० जना छन् । ४५% र ५५% को भागवण्डा देखिन्छ । स्थायी समितिमा एमालेबाट २६ जना र माओवादीबाट १९ जना छन् । पार्टीको मार्गदर्शक सिद्धान्त “माक्र्सवाद–लेनिनवाद” रहेको छ । एक्काइसौँ सताब्दिको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशन सम्म छलफल चलाइरहने भनेका छन् । जनताको बहुदलीय जनवादको ठाउँमा “जनताको जनवाद” निश्चित गरिएको छ । नवगठित नेकपाको नौ सदस्यीय सचिवालय राखिएको छ । सचिवालयमा दुई अध्यक्ष, दुईजना पूर्व प्रधानमन्त्री, यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल रहेका छन् । पार्टीको महासचिवमा विपष्णु पौडेल रहेका छन् । सबै पदाधिकारीले सपथ ग्रहण गरीसकेका छन् । अध्यक्षले एकले अर्कालाई सपथ ग्रहण गराएका छन् । वैठक पनि बसी सकेको छ ।
युगिन महत्वको नेकपाको घोषणापत्रमा भनिएको छ–राजनीतिक स्थायित्व, दीगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने नेकपाको मूल लक्ष्य हुनेछ । उपलब्ध साधन श्रोतको अधिकतम उपयोग, राष्ट्रिय पुँजीको निर्माण र परिचालन तथा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न नेकपा गठनबाट बलियो आधार सिर्जना हुनेछ । यसअनुरुप सरकारको प्रभावकारी संचालन, लक्ष्य उद्देश्य र मान्यता अनुरुप पार्टी पंक्ति एकताबद्ध संगठित र परिचालित हुनेछ । नेकपाले शान्तिपूर्ण प्रतिष्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुलासमाज, बहुदलीय प्रतिष्पर्धायुक्त आवधिक निर्वाचन, जनप्रतिनिधिद्वारा सरकार संचालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिबद्धता जनाएको छ । कम्युनिष्टहरु जुट्न जान्दैनन्–फुट्न जान्दछन् भनेर बोल्ड टाईपमा लेखिएको हुन्छ । कम्युनिष्टहरु दुनियाबाट सिद्धिए भनिन्छ । स्याउको रुखबाट पात झर्दा स्याउको बोट सकियो भन्ने हुन्छ, पछि लटरम्म फलेपछि स्याउ त रहेछ भनेर देखिन्छ । नेपालमा अब कम्युनिष्टका लागि “दियार ईज नो विन्टर सिजन” । अग्रजहरुको सपना पूरा भएको छ । प्रचण्डजीको गला अवरुद्ध भयो । पुष्पलाल भएको भए बूढो मान्छे नाच्नु हुन्थ्योहोला । ओलीले भने–दुईटा अध्यक्ष किन भन्ने लाग्ला, नेकपा टेम्पो चलाए जस्तो होइन, जेटमा दुइटै पाइलट हुन्छन् । पंचायतकालमा जनताका लागि भोकभोकै अनिद्रो भएर बिसौं वर्ष खटिएका नेता–कार्यकर्तामा अहिले सत्तामुखी–उपभोक्तामुखी चरित्र देखिन थालेको भन्दै अध्यक्षले चिन्ता व्यक्त गरे । युद्धका बेला मलाई नै मर्नका लागि अगाडि पारियोस भन्ने प्रतिष्पर्धा हुन्थ्यो । अहिले सांसद–मन्त्री बन्ने प्रतिष्पर्धा गरिन्छ । यस्तो प्रवृत्तिको बीउलाई बिरुवा हुन नपाउँदै अहिल्यै निमिट्यान्न पार्नुपर्छ । असोज १७ गतेबाट दुई पार्टी एक हुने प्रकृया सुरु भएको सात महिना पछि विश्वकै ध्यान खिचिने गरी नेकपा घोषणा भएको छ । प्रतिनिधिसभामा २७५ सिट मध्य सभामुख र उपसभामुख सहित १७४ सांसद भएका छन् । राष्ट्रियसभामा अध्यक्ष–उपाध्यक्ष सहित ४२ जना नेकपाका सांसद छन् । २ नं. प्रदेश बाहेक सबैमा नेकपाको बहुमत छ । प्रदेशसभाका ५५० सदस्य मध्य ३५१ जना नेकपाकै सांसद छन् । ७५३ स्थानीय तहका झण्डै ३५ हजार भन्दा बढी जनप्रतिनिधिमा १९ हजार भन्दा बढी नेकपाका छन्। नेकपाको बहुमत कहिल्यै थिएन, अब सबैतिर बहुमत छ । तसर्थ सहिनीतिका साथ हामी अब राष्ट्र निर्माणमा अघि बढ्छौं, दुबै अध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०७५-२-११

फेसबुकबाट तपाईको प्रतिक्रिया